२८ वर्षअघि छुटेको आमा खोज्दै शालिकराम

खोटाङ, २१ बैसाख । स्याङजाको अर्जुनचौपारी गाउँपालिका–६ का शालिकराम अधिकारी २८ वर्षअघि छुटेको आमाको खोजीमा निस्किएका छन् । २०५४ सालमा मेघालय गएपछि सम्पर्कविहिन बनेका आमा धनुमायाँ अधिकारीको खोजीमा शालिकराम भौतारिरहेका छन् । मेघालय, आसाम र गुहावटीमा पुगेर सोधखोज गर्दा खोटाङ दिक्तेलतिरका बिक थरका पुरुषसँग विवाह गरेको जानकारी पाएको शालिकरामले बताए ।

शालिकरामले तीन वर्ष यता नियमित खोजी गर्दा पनि आफ्नो आमालाई भेट्न सकेका छैनन् । जन्मदिने आमालाई एक पटक भेट गर्नका लागि पुर्वी नेपालको विभिन्न जिल्लामा सोधीखोजी सुरु गरेको शालिकराम बताउँछन् । ‘अहिलेसम्म आमा जीवित हुनुहुन्छ वा हुनुहुन्न थाहा छैन,’ उनले भने, ‘जीवित हुनुहुन्छ भने एक पटक भेट गर्ने मन छ । हामीलाई भेटाइदिएर सहयोग गर्नु भए आभारी हुनेछौँ ।’

घरमा खानलाउन धौधौ थियो । श्रीमान एकनाथ अधिकारी रोजगारीकालाथि सिलोङ गए । तर एकनाथ ५÷६ वर्षसम्म सिलोङमै अलमलिए । न घर फिरे न त खर्च नै पठाए । कमाउन गएको श्रीमान सिलाङमै हराएपछि धनुमायाँ श्रीमान लिनका लागि २०५४ सालमा कान्छी छोरीलाई काखीमा च्यापेर सिलोङतर्फ गएकी थिईन् । त्योबेला शालिकराम १२ वर्ष, जेठी छोरी सिता १० वर्ष र कान्छी छोरी देबी ६ वर्षकी थिईन् । कक्षा ६ मा पढ्दैगर्दा आमा सिलोङ गएयता हालसम्म भेट नभएको शालिकराम बताउँछन् ।

सिलोङमा आमा धनुमायाँ र बुवा एकनाथको भेट भयो । उनीहरु केही वर्ष सँगै बसे । सिलोङमा ‘ठूलदाई’ भनेर चिनिने एकनाथले मादक पदार्थ सेवन गरेर धनुमायाँलाई कुटपिट गरिरहन्थे । एकदिन कुटपिटबाट बच्न बिक थरका पुरुषसँग शरण लिन पुगिन् । एकनाथले ‘त्यहीसित बिहे गर’ भन्दै खेदाए । धनुमायाँ बिक थरका पुरुषसँग चार÷पाँच वर्षसम्म सिलोङमै बसेकी थिईन् । त्यसपछि तिनै पुरुषसँग सिलोङ छाडेकी धनुमायाको हालसम्म अत्तोपत्तो छैन । उनीहरु नेपाल फर्किएको कम्तीमा १५÷२० वर्ष वितिसकेको छ ।

बुवालाई लिन गएको आमा धनुमायाँ पनि सिलोङमै अलमलिएपछि जेठी छोरी सिता पनि आफन्तको साथमा सिलोङ पुगेकी थिईन् । त्यहीबेला शालिकराम पनि बहिनी सितासँगै सिलोङ जान खोजेका थिए तर आफन्तले ‘पढाइ राम्रो छ, पढ्नुपर्छ’ भन्दै रोकेका थिए । सिलोङमै हुर्केबढेकी सिताले गुहावटीमा विवाह गरिसकेकी छन् । दोश्रो विवाह गरेकी धनुमायाँ सिलोङमै रहेकोबेला छोरी सितासँग भेट भएको थियो । नेपाल फर्किएपछि भने आमासँग पूर्णरुपमा सम्पर्क टुटेको शालिकराम बताउँछन् ।

शालिकराम पेशाको सिलसिलामा हाल दिल्लीमा छन् । उनी आमा सिलोङ गए लगत्तै आफन्तको साथ लागेर दिल्ली गएका थिए । कान्छी देबीले नवलपरासीमा विवाह गरेकी छन् । बुवा एकनाथको २०६५ सालमै मृत्यु भइसकेको छ । शालिकरामले सम्पर्क विहिन आमासँग भेट हुने आशा हालसम्म जीवित राखेकाछन् ।