सोनाम सज्जन किरातीलाई तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गर्ने घोषणा

खोटाङ, २२ बैसाख । खोटाङबाट प्रकाशन हुँदैआएको तुवाचुङ साप्ताहिकले कवि, लेखक तथा पत्रकार सोनाम सज्जन किरातीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । हलेसी तुवाचुुङ नगरपालिकालाई आधारभूमि बनाएर प्रकाशन हुँदैआएको पत्रिकाले १५ हजार १५ रुपैयाँ राशीको तुवाचुङ साप्ताहिक पुरस्कार कवि, लेखक तथा पत्रकार किरातीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

तुवाचुङ साप्ताहिक प्रकाशन समितिको वैशाख १७ गते बसेको बैठकबाट कवि, लेखक तथा पत्रकार किरातीलाई तुवाचुङ साप्ताहिक पुरस्कार प्रदान गर्ने निर्णय गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक/सम्पादक दिपेन्द्र राईले जानकारी दिए । घोषित पुरस्कार पत्रिकाको वार्षिकोत्सव अर्थात ‘तुवाचुङ डे’को दिन आगामी साउन ४ गते प्रदान गर्ने तयारी गरिएको विज्ञाप्तीमार्फन जानकारी दिइएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा दाम्ली निवासी किरातीका संस्मरणात्मक पुस्तक ‘जनयुद्धमा वितेका पल (२०८०)’ र कविता संग्रह नपुङ्सक स्वर्गको विरुद्ध आगो (२०७२) प्रकाशित छन् । वास्तविक नाम देवराज राई भए पनि उनी साहित्यमा सोनाम सज्जन किरातीको नामले परिचित छन् ।

ग्रामीण पत्रकारिताको लक्ष्य बोकेर २०७५ साउन ४ गतेदेखि प्रकाशन सुरु गरिएको तुवाचुङ साप्ताहिकले आवाजविहीनको आवाजलाई प्राथमिकतामा राख्दैआएको छ । वेथिति र विसंगती विरुद्ध ‘खरो’ समाचार प्रस्तुत गर्ने पत्रिकाले तुवाचुङडटकम न्यूज पोर्टल पनि सञ्चालन गर्दैआएको छ ।

प्रत्येक वर्षको ४ साउनमा वार्षिकोत्सव मनाउँदै आएको पत्रिकाले हालसम्म विभिन्न विधामा २७ जनालाई ४ लाख ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिसकेको छ ।