बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवा सडक सुचारु

खोटाङ, २३ जेठ । खोटाङमा बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवा सडक नौ घण्टापछि सुचारु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने पंखु खोलामा आएको बाढीले अवरुद्ध सडक सुचारु भएको हो ।

भारी वर्षापछि पंखु खोलामा आएको बाढीका कारण जेठ २३ गते बिहान साँढे ५ बजेदेखि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक मर्मतपछि दिउँसो २ बजेदेखि सवारी साधन एकतर्फी वारपार गर्न थालेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले बताए ।

बाढीका कारण अवरुद्ध बनेको सडक मर्मतका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जेसिभि पठाएको थियो । यस्तै, श्रमदानका लागि रणभीम गण मुढे व्यारेकबाट नेपाली सेनाको टोली पनि पंखु खोला पुगेको थियो । (विस्तृत समाचार Views Of Nepal को पेजमा प्रकाशित छ ।)