खोटाङमा विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

खोटाङ, १८ जेठ । खोटाङका विद्यार्थी संगठनले प्रधानमन्त्री बालेन्द्र शाहको पुत्ला जलाएका छन् । प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्दै दिएको अभिव्यक्ती विरुद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तीकारी) र अनेरास्ववियूले जेठ १८ गते साँझ दिक्तेलमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

विद्यार्थी संगठनले दिक्तेलको किरातचोकमा प्रधानमन्त्री विरुद्ध चर्को नाराबाजी गर्दै पुत्ला जनाएका छन् । विद्यार्थी नेताहरुले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई कमजोर बनाउने गरि अभिव्यक्ती दिने प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

विद्यार्थी संगठनले जेड १७ गते दिउँसो जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै नेपाल–भारतको सीमाको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ती आपत्तिजनक, गैर–जिम्मेवार, आत्मसमर्पणवादी तथा राष्ट्रहितविपरीत रहेको प्रतिक्रीया दिएको थियो । विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन, जनतासमक्ष सार्वजनिक रूपमा माफी माग्न र आफ्नो धारणा सच्याउन माग गरेका छन् ।

यस्तै, सिमाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिइएको अभिव्यक्ती विरुद्ध श्रम संस्कृति पार्टी खोटाङले पनि विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री शाहले राष्ट्रहित विपरित अभिव्यक्ती दिएको भन्दै श्रम संस्कृति पार्टीले जेठ १८ गते दिक्तेलको रत्नपार्कमा केहीबेर सांकेतिक रुपमा नाराबाजी गरेका हुन् । श्रम संस्कृति पार्टीको टोली आफ्नो कार्यालयबाट प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्दै रत्नपार्कको किरातचोक पुगेका थिए ।