
खोटाङ, ४ असार । जिल्ला प्रहरी कार्यालय खोटाङले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, साँगाको कर्जा दुरुपयोग गरेको कसुरमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २७ वर्षीय सरोज राईलाई पक्राउ गरेको हो ।
लघुवित्तको रामेछाप खाँडादेबी गाउँपालिका–७ गाल्पास्थित शाखाका तत्कालिन कनिष्ठ सहायक राईसहित तीन जनामाथि कार्यविधि विपरित ७२ लाख ३७ हजार ३३५ कर्जा दुरुपयोग गरेको अभियोग छ । बेलुमायाँ मगरले जिल्ला प्रहरी कार्यालय रामेछापमा दिएको जाहेरीको आधारमा राईलाई असार ३ गते डिकुवाको दाम्लीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले जानकारी दिए ।
बैंकिङ कसुर मुद्धामा हालसम्म फरार रहेका प्रतिवादी राईलाई इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीलाई जिम्मा लगाइएको सूचना अधिकारी प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए ।
तीन जना प्रतिवादीले केन्द्र नम्बर ५ र १७ का सदस्यहरुको नाममा कृत्रिम कागजात खडा गरी ऋण कारोबार देखाएर संस्थालाई हानीनोक्सानी पुर्याएको जाहेरीमा उल्लेख छ । २०७७ साउन ३० गते खटाइएको छानविन समितिले आफै कागजात तयार गरी गैर–कानुनी तवरबाट संस्थाको नीति विपरित हुनेगरि कर्जा प्रवाह गरेको औंल्याएको थियो । बैंकिङ कसुरमा संलग्न तीन जनामध्ये दुई प्रतिवादी फरार रहेको रामेछाप प्रहरीले जनाएको छ ।
