मन्दुम ट्रेलको प्रवेशद्धारमा साकेला शिली

खोटाङ, ५ असार । खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित मन्दुम ट्रेलको प्रवेशद्धारमा साकेला शिली प्रतियोगीता गरिएको छ । मौलिक संस्कृतिको संरक्षण एवं मुन्दुम पदमार्गको प्रवद्र्धन गर्ने उद्धेश्यका साथ वडा कार्यालय खिदिमाले तावाभञ्ज्याङमा साकेला शिली प्रतियोगीता गरेको हो । तावाभञ्ज्याङलाई मन्दुम ट्रेलको प्रवेशद्धार मानिन्छ ।

असार ४ र ५ गते आयोजना गरिएको प्रतियोगीतामा किरात राई यायोक्खा पथरी, शनिश्चरे नगर समिति, मोरङले प्रथम स्थान प्राप्त गरेको छ । यस्तै, किरात राई यायोक्खा साकेला गाउँपालिका–२ रतन्छा, पिनालाखा दोश्रो, किरात राई यायोक्खा दोर्पा तृतीय र पारुहँ सेवा समाज रतन्छा, साल्मेले सान्त्वना स्थान प्राप्त गरेको छ ।

प्रतियोगीतामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना स्थान प्राप्त गर्ने टिमले क्रमशः नगद ४० हजार, ३० हजार, २० हजार र १० हजारको साथमा कठुवा र प्रमाण–पत्र प्राप्त गरेका छन् । प्रतियोगीतामा १५ वटा टिमले परम्परागत भेषभूषा, ढोलझ्याम्टामा मौलिक साकेला शिली प्रस्तुत गरेका थिए । पर्यटन विकास परियोजना, विराटनगरको समन्वय, साकेला गाउँपालिकाको प्रायोजन तथा साकेला शिली प्रतियोगिता उपसमिति, खिदिमाको व्यवस्थापनमा वडा कार्यालयले प्रतियोगीता आयोजना गरेको हो ।

यस्तै, साकेला गाउँपालिका र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले हरेक मंसिर २२ गते ‘मुन्दुम पदमार्ग स्थापना दिवस’ मनाउने निर्णय गरेको छ । २०७७ साल मंसिर २२ गते तावाभञ्ज्याङबाट मुन्दुम पदमार्ग निर्माण अभियान सुरु गरिएको थियो । सोही दिनको सम्झना गर्दै मंसिर २२ गतेको दिनलाई संयुक्त रुपमा ‘मुन्दुम पदमार्ग स्थापना दिवस’को रुपमा मनाउने निर्णय गरिएको साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।