
खोटाङ, २ पुस । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ जोड्ने तावाखोला दोभानमा पक्की पुल बनाउन डिपिआरको काम सुरु गरिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई दिक्तेलसँग जोड्ने छोटो दुरीको बाटो खोल्नेगरि तावाखोला दोभानमा पक्की पुल बनाउन डिपिआरको काम सुरु गरिएको हो । तावादोभानबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकातर्फ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकातर्फ कच्ची सडक बनिसकेको अवस्थामा पक्की पुल बनाउने योजना अघि सारिएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाको संगमस्थलको रुपमा रहेको तावा दोभानमा हाल झोलुङ्गे पुलबाट वारपार गर्नेगरिएको छ । पुल बनाउनका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बजेटबाट डिपिआरको काम थालिएको पहलकर्ता कांग्रेसका युवा नेता नइन्द्र राईले बताए । बिआई इन्जिनियरिङ कन्सल्टेन्सी टोखाले मंसिर २५ गते पुलको डिपिआरका लागि प्रारम्भिक सर्भे गरेको छ । डिपिआर अन्तरगत क्रमशः माटो परीक्षण तथा भौगोलिक अवस्थाको अध्ययन गर्ने कन्सल्टेन्सीले जनाएको छ । कन्सल्टेन्सीले डिपिआर तयार पारेर गाउँपालिकालाई बुझाउनेछ । डिपिआरको काम सकिएपछि बजेटका लागि पहल गरिने राईले बताए ।
तावा दोभानमा पुल बनेपछि दिक्तेलबाट एक घण्टामै धिप्लुङ झरना जाने आउने वातावरण बन्ने दावी गरिएको छ । तावादोभानबाट निस्कने सडक दिलैंचीमा दिक्तेल–खोटाङबजार सडकसँग जोडिन्छ । दिलैंचीबाट धिप्लुङ झरनातर्फ ज्यामिरे हुँदै मलबासेसम्म सडक बनिसकेको छ । मलबासेबाट झरनाको फेदमा पुग्न सकिन्छ ।
नेबिसंघका केन्द्रीय सदस्य राईका अनुसार मलबासेबाट काहुले, टेम्माबजार, सेम्मा, गोगने बास्ताला, मैस्याङडाँडा, ध्रुवपार्क, छितापोखरीबजार हुँदै स्याल्मे सुनकोसीको बाटोबाट पञ्चमीबजार आउजाउन गर्ने सडक पनि बनिसकेको छ । भविष्यमा दिलैंचीबाट एक्लेबर, छितापोखरी, खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै भोजपुर जोड्ने बाटो बनाउन पनि सकिने राईले बताए ।
