पत्रकार महासंघको भवन बनाउने बजेट विनियोजन गर्छुः मन्त्री भूपेन्द्र राई

खोटाङ, ३० मंसिर । भौतिक पुर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले नेपाल पत्रकार महासंघ शाखा खोटाङको भवन निर्माणका लागि बजेट विनियोजन गरिदिने प्रतिवद्धता जनाएका छन् । पत्रकार महासंघको नवनिर्वाचित समितिलाई मंसिर ३० गते बधाई तथा शुभकामना दिँदै मन्त्री राईले सकभर चालु आर्थिक वर्षभित्र नभए आगामी आर्थिक वर्ष पत्रकार महासंघको भवन निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिदिने प्रतिवद्धता जनाएका हुन् ।

बधाई तथा शुभकामना प्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखाका नवनिर्वाचित अध्यक्ष हरिबोल आचार्यले भवन निर्माणका लागि बजेट व्यवस्थाको माग गर्दै मन्त्री राईलाई ज्ञापन–पत्र बुझाएका थिए । ज्ञापन–पत्र बुझेपछि मनत्री राईले सकभर यही वर्ष बहुवर्षेमा पार्न कोसिस गर्ने नभए आगामी वर्ष भवन पूर्ण हुनेगरी बजेट व्यवस्थापन गरिदिने प्रतिवद्धता जनाएका हुन् । अन्य जिल्लामा पत्रकार महासंघले आफ्नै भवनमा कार्यक्रम गर्ने गरेकोमा खोटाङमा भवन नहुनु दुःखद भएको मन्त्री राईको भनाई थियो ।

कृषिविज्ञ मदन राईले दिक्तेलको किरातचोक भन्दामाथि सोल्मामा उपलव्ध गराएको जग्गामा पत्रकार महासंघको पक्की भवन निर्माणको तयारी गरिएको छ । भवन निर्माणका लागि डिपिआर तयार पारेर घडेरी सम्याइसकिएको पत्रकार महासंघका अध्यक्ष आचार्यले बताए । भवन निर्माणका लागि चालु आर्थिक वर्ष प्रदेशबाट २० लाख प्राप्त भएको छ ।