
खोटाङ, ५ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेमा जस–मैयाँ किरात राई चाम्लिङ लाफेहँछा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय जसबहादुर राईको स्मृतिमा उनका श्रीमती मैयाँकुमारी राई, छोरी रिनादेबी राई, छोरा सञ्जयकुमार राई र छोरी रबिना राईले १ लाख ११ हजार १११ रुपैयाँ राशीको अक्षयकोष स्थापना गरेका हुन् ।
भुपु भारतीय सेना जसबहादुरको निधन भएको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर पुस ५ गते श्रीमती मैयाँकुमारी र नाती सौहाद्र राईले अक्षयकोष स्थापनार्थ विद्यालयका अक्षयकोष परिचालक समितिका संयोजक ज्ञानेन्द्र राईलाई नगद हस्तान्तरण गरेका छन् । श्रीमाबिमा अध्ययन गर्ने दलित तथा अभिभावकबिहिन छात्र÷छात्रालाई वार्षिक रुपमा आउने व्याजबाट छात्रबृत्ति दिनेगरि बुवाआमाको नाममा अक्षयकोष स्थापना गरेको संस्थापक सन्जयकुमार राईले बताए । २०१६ साल साउन १६ गते जन्मिएका राईको २०८० पुस ५ गते निधन भएको थियो ।
शैक्षिक अभियान्ता एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शैक्षिक सुधार कार्यदलका संयोजक सुर्य राईको प्रमुख आतिथ्यतामा अक्षयकोष स्थापना गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका पुर्वप्रमुख बबी चाम्लिङ, कांग्रेस खोटाङका प्रवक्ता रोजन राई, कांग्रेस महासमिति सदस्य सुमनबाबु आचार्य, व्यवस्थापन समितिका पुर्वअध्यक्ष राजेन्द्र राई, चन्दादाता गिरीराज राई, अक्षय कोषदाता प्रेम श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान राईको सभापतित्वमा भएको कार्यक्रममा अक्षयकोष संस्थापककातर्फबाट रिनादेबी राई र सन्जयकुमार राईले आफ्नो धारणा राखेका थिए । स्वर्गीय जसबहादुर राईको परिवारले छात्र÷छात्रालाई दुई थान भलिबल र दुई थान जाली प्रदान गरेका छन् ।
जस–मैयाँ किरात राई चाम्लिङ लाफेहँछा अक्षयकोष थपिएसँगै श्रीमाबि बाँसबोटेमा अक्षयकोषको संख्या १३ वटा पुगेको छ ।
