अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम बारे अन्तरक्रिया

खोटाङ, ६ पुस । खोटाङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन प्रक्रिया विषयक अन्तरक्रिया गरिएको छ । कोशी प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका बारेमा अन्तरक्रिया गरिएको हो । खोटाङ र उदयपुरका सबै स्थानीय तहका उपप्रमुख र महिला शाखा प्रमुखहरुसँग हलेसीमा पुस ६ गते अन्तरक्रिया गरिएको हो ।

सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पिके)को प्रमुख आतिथ्यता तथा सामाजिक विकास मन्त्रालयको महाशाखाकी प्रमुख दुर्गा भण्डारी बरालको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा करुणा फाउण्डेसनको संयुक्त जिल्ला कार्यलयको संयोजक मनोज पौडेलले जन्मजात हुने अपाङ्गता रोकथाम गर्न अपाङ्गता भएको व्यक्तिसहितको समावेशी समाज निर्माण गर्न करुणा फाउण्डेसनले विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिए ।

सामाजिक विकास मन्त्री राईले गाउँ–घरबाट अपाङ्गता भएका व्यक्तिहरूको पहिचान एवं तथ्याङ्क सङ्कलन गरी जिविको पार्जन तथा आयआर्जनमा टेवा पुग्ने कार्य गर्नका लागि स्थानीय तहका उपप्रमुखहरुलाई आग्रह गरे ।

यस्तै, महाशाखाकी प्रमुख भण्डारीले अपाङ्गताका लागि नीतिगत ब्यवस्था भएपनि उनीहरुको रोजगारमा पहुँच हुन नसकेका कारण राष्ट्रिय आयमा योगदान पुर्‍याउन नपाएको उल्लेख गरेकी छन् ।

करुणा फाउण्डेसन नेपालले अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिकालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।