गाडी रोकेर बाहिर निस्केर काठ निकाल्न खोज्दा दुर्घटनाः प्रहरी

खोटाङ, १० पुस । खोटाङमा सुमो दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन् । पुस १० गते काठमाडौंबाट खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी जाँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो पल्टिँदा फेदीका दुर्गाप्रसाद राई गम्भीर घाइते भएका हुन् ।

एक जना मात्रै यात्रु बोकेको सुमो केपिलासगढी गाउँपालिका–३ बासपानीको राँटीस्थित भदौरेडाँडाबाट तापखोला किनारमा झरेको स्थानीय प्रताप राईले बताए । गुल्टिँदै करिब पाँच सय मिटर तल झरेको सुमो क्षतबिक्षत बनेको छ । घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।

घाइतेलाई ईलाका प्रहरी कार्यालय बाक्सिला, केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी एबं स्थानीयले उद्धार गरेका थिए । सुमो चालक ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका सत्रुधन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतिक बिष्टका अनुसार आफै सम्पर्कमा आएका चालकले ‘गाडीकोमुनि अड्किएको काठ निकाल्न खोज्दा’ गाडी पल्टिएको बताएका छन् । उकालोमा गाडी रोकेर बाहिर निस्केर काठ निकाल्न खोज्दा यात्रुसँगै गाडी पल्टिएको जानकारी आएको डिएसपी बिष्टले बताए ।