
खोटाङ, ११ पुस । खोटाङमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका बृद्धको मृत्यु भएको छ । पुस १० गते काठमाडौंबाट खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी जाँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो पल्टिँदा गम्भीर घाइते भएका फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राईको मृत्यु भएको हो ।
केपिलासगढी गाउँपालिकाको एम्बूलेन्समार्फत जिल्ला अस्पताल दिक्तेल पुर्याइएका राईको उपचारको क्रममा पुस १० गते राती मृत्यु भएको प्रहरीले जनाएको छ । बेलैमा सुविधा सम्पन्न अस्पताल पुर्याउन सकिएको भए घाइतेलाई बचाउन सकिने सम्भावना थियो ।
एक जना मात्रै यात्रु बोकेको सुमो केपिलासगढी गाउँपालिका–३ बासपानीको राँटीस्थित भदौरेडाँडाबाट तापखोला किनारमा झरेको स्थानीय प्रताप राईले बताए । सडकबाट गुल्टिँदै झरेको सुमो क्षतबिक्षत बनेको छ । घाइतेलाई इलाका प्रहरी कार्यालय बाक्सिला, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयले उद्धार गरेका थिए । सुमो चालक ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका सत्रुधन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतिक बिष्टका अनुसार आफै सम्पर्कमा आएका चालकले ‘गाडीकोमुनि अड्किएको काठको टुक्रा निकाल्न खोज्दा’ गाडी पल्टिएको बताएका छन् । उकालो बाटोमा गाडी रोकेर बाहिर निस्केर काठ निकाल्न खोज्दा यात्रुसँगै गाडी पल्टिएको जानकारी आएको डिएसपी बिष्टले बताए ।
