खोटाङ, २३ पुस । चिनमा गएको शक्तिशाली भूकम्पको धक्काका कारण सोलुखुम्बुमा ७ घरमा क्षति पुगेको छ । पुस २३ गते बिहान ६.५० बजे तिब्बतको डिङ्गी काउन्टी नजिक गएको ६.९ रेक्टरको भूकम्पको धक्काले माप्य दुधकोसी गाउँपालिका–१ जुभिङका पञ्चबहादुर कामी, निङ्गानुरु शेर्पा, थुलुङ दुधकोसी गाउँपालिका–७ देउसाका हर्कबहादुर खत्री र खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङका आङङिमा शेर्पाको घरमा क्षति पुगेको हो ।
यस्तै, सोताङ गाउँपालिका–३ का चेतन बस्नेत, जनक बस्नेत र लिखुपिके गाउँपालिका–४ का कमलकिशोर कार्कीको घरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा प्रहरी नायव उपरीक्षक द्धारिकाप्रसाद घिमिरेले बताए ।
भूकम्पले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेत्याङस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको मातहतमा रहेको थामे पोष्टको कार्यालय भवन पनि चर्किएको छ । यस्तै, थुलुङ दुधकोसी गाउँपालिका–४ लाफ्लास्थित सुर्यदय आधारभुत विद्यालयको झ्याल र पछाडिपट्टीको पर्खाल चकिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पञ्चबहादुरको दुई तले घरको उत्तरपट्टीको दुई वटा झ्याल र पुर्वपट्टीको गारो चर्किएको छ । निङ्गानुरुको घरको उत्तर–पश्चिततर्फको गारो चर्किएको छ ।
यस्तै, हर्कबहादुरको घरको माथिल्लो तलाको बिच गारो र पुर्वपट्टीको गारो चर्किएको छ । चेतनको घरको पश्चिम र दक्षिणतर्फको गारो चर्किएको छ । जनकको घरको बलेसी चर्किएको छ । कमलकिशोरको घरको भुइँ तलाको अगाडिपट्टिको ढोका छेउको दुबैतिरको गारो सरेको र दोश्रो तलाको दक्षिणतर्फको गारो चर्किएको छ ।
खोटाङमा पनि दुई घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
