खोटाङ, १७ माघ । आगोले जलेका घाइते बोकेर काठमाडौं जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । माघ १६ गते राती खोटाङबाट घाइते बोकेर काठमाडौं जाँदै गरेको ना १ ज ६४२१ नम्बरको जीप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित भँडारे खोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा केपिलासगढी गाउँपालिका–३ बासपानीका ५६ वर्षकी मायाँदेबी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४५ वर्षका तारा गुरुङको मृत्यु भएको हो ।
आगोले जल्दा गम्भीर घाइते भएकी मायाँदेबीलाई बोकेर काठमाडौं जाँदै गरेको जीप सडकबाट करिब सय मिटर तल खस्दा तीन जनाको घट्नास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक मोहन पोखरेलले बताए ।
जीप चालक सुनसरी इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । – (भिडियो समाचारका लागि फेसबुक पेज views of nepal हेर्न सक्नुहुनेछ ।)
