खोटाङका ९ हजार ९९५ किशोरीलाई एचपिभी खोप दिने तयारी

खोटाङ, २१ माघ । खोटाङका झण्डै १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदिने तयारी गरिएको छ । माघ २२ गतेदेखि माघ २७ गतेसम्ममा जिल्लाका ९ हजार ९९५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप दिने तयारी गरिएको हो ।

कक्षा ६ देखि १० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीलाइ एचपीभी खोप दिइने स्वास्थ्य कार्यालय, खोटाङका प्रमुख जिवन चौलागाइले बताए ।

खोप अभियानका लागि २७४ खोप केन्द्रमा ५४८ स्वयम्सेवक र १०१ जना सुपरिर्वेक्षक परिचालन गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दुई चरण गरेर खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावा बेसी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माघ २२ गतेदेखि माघ २६ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।

यस्तै, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा माघ २३ गतेदेखि माघ २७ गतेसम्म एचपिभी खोप खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पाठेघरको मुख क्यान्सर हुनबाट जोगाउनका लागि एचपिभी खोपबाट कोही पनि किशोरी नछुटाउन आग्रह गरेका छन् ।