‘बाँदर मार्ने कि बिचौलियालाई जेल हाल्ने ?’

खोटाङ, २३ माघ । प्राध्यपक डा. युवराज संग्रौलाले किसानको समस्या बाँदर नभएर ‘बिचौलिया’ भएको बताएका छन् । जिल्ला समन्वय समिति खोटाङले माघ २२ गते दिक्तेलमा आयोजना गरेको ‘कृषि सम्वन्धी बृहत अन्तरक्रिया तथा छलफल’ कार्यक्रममा डा. संग्रौलाले बाँदरले भन्दा बिचौलियाले किसानको धेरै नोक्सान गरिरहेको उल्लेख गरेका छन् । ‘हामी बाँदरलाई गाली गरिरहेका छौँ । बाँदर त छ्यापछ्याप्ती छन् अरु नै । मान्छे बाँदरले सिध्याएको छ । बाँदरले तपाई हाम्रो दुईटा फल खाएर केही पनि सिध्याउँदैन । म त त्यी बाँदरहरुलाई नमारौं नमस्ते गरौं भन्छु,’ डा. संग्रौलाले भने, ‘बिचौलिया बाँदरले देश सिध्याएको छ, त्यसलाईचैं के गर्ने, त्यो चैं सोचौं न ।’

संग्रौलाले बाँदर मार्ने कानुन भन्दा बिचौलियालाई जेलभित्र हाल्ने कानुन बनाउनुपर्नेमा जोड दिए । ‘किसानलाई बाँदरले सिध्यायो’ भनेर बिचौलियाले नै हल्ला फिँजाएर सबैको ध्यान बाँदरतिर केन्द्रित गराएको डा. संग्रौलाको तर्क थियो । ‘बाँदरले नोक्सानी गरिरहेको छ कि बिचौलियाले नोक्सान गरिरहेको छ ? बिचौलियाले हो भने पहिलो कानुन कसको वारेमा बन्नुपर्छ ? बाँदर मार्ने कानुन बन्नुपर्छ कि बिचौलिया जेलभित्र हाल्ने कानुन बनाउनपर्छ ?,’ संग्रौलाले प्रश्न गरे, ‘हाम्रो प्रायोरिटी बाँदरतिर गयो बिचौलिया बाँच्यो । सायद बाँदरको कहानी उसैले बढि उठायो होला । बाँदरले सिध्यायो है भन्नेकुरा उसैले बढी गर्‍यो । त्यसो भएपछि हाम्रो ध्यान बाँदरतिर गएपछि उ बाँच्ने भयो ।’

विकल्प के त ?

डा. संग्रौलाले कृषि उत्पादनमा स्वनिर्भर बन्ने जागरण ल्याउनुपर्नेमा जोड दिए । उनले बिचौलियाको हातमा नपुग्नेगरि कृषि उत्पादनलाई डाइरेक्ट बजारमा पुग्ने वातावरण निर्माणमा अभियान थाल्नुपर्ने धारणा राखेका छन् । ‘कृषि उत्पादनमा स्वनिर्भर बनौं । किसानले जे–जे उत्पादन गर्न सक्छन् । काठमाडौंमा लैजान सकिने बजार बनाऔं,’ उनले भने, ‘बिचौलियाको हातमा नपुगीकन बोलेरो वा ट्रकबाट काठमाडौं पुर्‍याउने, त्यहाँ पुग्ने वित्तिकै किसानको खातामा पैसा आउनेगरि बजार निर्माण गर्नुपर्‍यो । गाउँ–गाउँमा बजार निर्माण हुनुपर्‍यो । देशभरीका किसानले उत्पादन गरेका सामान बिचौलियाको हातमा नपुग्ने बजार निर्माणका लागि जागरण ल्याउनुपर्छ ।’