हलेसीः आगोले खायो ७ करोड ३० लाख

खोटाङ, ५ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारमा भएको आगलागीमा ७ करोड ३० लाखको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । फागुन ४ गते साँझ ६.४९ बजे पदमसेर राईको घरबाट सुरु भएको आगोबाट करोडौंको धन सम्पत्ती नष्ट भएको हो ।

आगलागीमा पदमसेरको ४ करोड, ऐराख राईको २ करोड ५० लाख, भरणसेर राईको ५० लाख र प्रकाशचन्द्र गिरीको ३० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले बताए ।

पदमसेरको काठ र जस्ताले बनेको तीन तले घरको पहिलो तलामा हार्डवेर पसल र दोश्रो तलामा निर्धन उत्थान लघुवित्तको कार्यालय सञ्चालनमा रहेको थियो । ऐराखको न्यू कल्याण होटल सञ्चालन भइरहेको चार तले पक्की घर र सँगै रहेको दुई तले घर जलेको छ ।

यस्तै, प्रकाशचन्द्रको हलेसी दर्शन होटलको फलामे ट्रष्टले बनेको एक ताले भान्छा घर र दुई तले पक्की घरमा आंशिक क्षती पुगेको छ । भरणसेरको पारुहाङ होटल सञ्चालन भइरहेको चार तले पक्की भवनको दोश्रो र तेश्रो तलामा आंशिक क्षती पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भान्छा कोठाको ग्याँसको रेगुलेटरबाट ग्याँस लिक भएर आगो सुरु भएको वडाध्यक्ष कमल गिरीले बताए ।

हलेसीमा २०७४ पुस १८ गते राती आगलागी हुँदा स्थानीय व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राईको घरमा पूर्णरुपमा क्षती पुगेको थियो ।