जीवन अबिरल बहिरहन्छ – थेम्ससँगसँगै

✍ भीम राई

अक्सफोर्ड (बेलायत), ५ फागुन । सन् दुई हजार चौबिसको जुलाई महिना । मध्यान्हको सूर्यको किरण बिगबेनको शीरमा टलक्कै टल्किरहेको छ । अझै यसो भनौं – यहाँदेखि तिनै बिगबेनले ग्रिनविचको समय दिउँसोको ठीक १२ बजाइ रहेको मज्जाले नजर लगाउन मिल्छ । अब यति भनिसकेपछि यहाँहरुलाई अवगत नै भयो होला ? हामी यतिबेला लण्डनमा छौ । उसो त यति चर्चित सहर लन्डनलाई एक जमानामा कहिले सूर्य नअस्ताउने राज्यको राजधानी हो भन्दा पनि खास्सै फरकपर्दैन थियो । तर अहिले त्यो सब इतिहास भैसकेको छ ।

बेलायतमा अहिले ग्रिष्मकालिन मौसम छ । भनौं – यो समय भनेको फिरङ्गिहरुको लागि अति उपयुक्त्त समय हो । त्यति राम्रो मौसमको फाइदा उठाउँदै उठाउँदै म तारासँग “सर्कुलर क्रुज” को माथिलो तलामा पुगेको हुन्छु । र, त्यहाँदेखि देखिने दायाँबायाँको मनोरम दृश्य नियाली रहेका छु । तर यतिबेला क्रुजलेथेम्स नदीको नाङ्गो छातीमा टेकेर पानीमाथि मज्जाले तैरिरहेकी छिन् ।

हामी त्यहाँ पुगेपछि बिगबेन हेरेर एकछिन आश्चर्य मान्छौं । तर सोहिबेला लण्डन नै थर्कने गरि क्रुजले हर्न बजाइ हाल्छ । हर्नले यात्रीहरुको मुटु नै थरङ्गै बनाएको महसुस हुन्छ । हर्नको साथसाथै क्रुजले सुस्तरी आफ्नो टाउको घुमाउन थाल्छ । त्यसरी टाउको घुम्दा मलाई हल्का रिङ्टा लागेको आभाष हुन्छ । हुनत यो अन्य केहि चिज होइन । भेरि फोकल चश्माको दोष हो भन्ने मनमनै लाग्छ ।

अँ… क्रुजलाई यसरि आफ्नो वसमा राखेर फनक्क घुमाउने क्रुज चालकका नाम चाहिँ चार्ल्स डेभिस रहेछन् । जुन कुरो जोन फ्रान्सिसले ध्वनी प्रसारक यन्त्रदेखि उदघोष गरेपछि मैले चाल पाउँछु ।

त्यसपछि यात्राको बिषयमा जोनले खुरखुरु भट्याउन सुरु गर्छ तर ऊँ सुरुमा यसो भन्छ, – “ल यहाँहरु सबै जनालाई थेम्स नदीमा स्वागत छ । अब तपाईहरु जहाँजहाँ बस्नु भएको छ, त्यहाँदेखि सिधै आफ्नो अगाडि हेर्नुहोला ? हेर्नुहोस त – हाम्रो सामुन्ने खडा भएर रहेको भीमकाया भवन बेलायती संसद भवन वेस्ट मिनिस्टर पार्लियमेन्ट भवन हो । यस्को निर्माण तपाईहरुले कल्पना गरेको समय ५ सय बर्ष होइन । ७ सय बर्ष पनि होइन । अझै त्योभन्दा धेरै अगाडि भएको हो । यसको निर्माण आजभन्दा ९ सय बर्ष अगाडि भएको हो । त्यहाँ ‘हाउस अफ लर्डस’ र ‘हाउस अफ कमन्स’ गरेर दुई थरीका सदश्यहरु बस्ने स्थान छ । यो नै विश्वको सबैभन्दा पुरानो तर आधुनिक प्रजातन्त्रको जन्म भएको देश हो ।

त्यसैले वेस्ट मिन्स्टर पार्लियमेन्टलाई ‘प्रजातन्त्रको जननी’ भनेर पनि चिन्ने गरिन्छ । तर मैले यसो भनिरहँदा एउटा अर्को कुरो चाहिँ ख्याल गर्नु होला ? प्राचिन प्रजातन्त्रको उपाधि भने अहिलेसम्म एथेन्स, ग्रिसलाई नै गइरहेको छ ।”

“मित्रहरु – ल ! हेर्नुहोस त । यति राम्रो मौसममा यो कति मज्जाले चमक्कै चम्किरेहको छ । तर जति मज्जाले यो भवन चम्किरहेको देखिएता पनि इतिहासका बिभिन्न कालखण्डहरुमा यहाँ अनेकौ दुखद घटनाहरु घटेका छन् । मज्जाले दिल खोलेर सुन्नुहोस है त । यहाँ एउटा घटना चाहिँ यस्तो घटेको थियो । ४ नोभेम्वर १६०५ को रात्रिकालिन समय थियो ।

आतङ्ककारी गतिविधिमा लागेको गाइ फोक्सले बारुद (गन पाउडर) राखेर तत्कालिन इङ्गल्याण्डका राजा जेम्स प्रथम र भवनलाई सँगसँगै उडाइ दिने योजना बनाएका थिए । तर राजाका सुरक्षा अधिकारिहरुले उनको योजनालाई चाल पाए । र, त्यस कार्यलाई उनीहरुले सफल गर्न दिएनन् । तैपनि फक्सको विचारलाई सम्झना गर्दै अहिले पनि हरेक नोभेम्वर ५ तारिकलाई ‘गाइ फोक्स नाइट’ भनेर मनाउने बेलायती परम्परा रहेको छ ।”

“ल अब पार्लियमेन्टलाई बिदा गरौ । तर त्यहाँदेखि थोरै बायाँ दिशातिर हेर्नु होला ? अनि सिधै अगाडि देखिएको त्यो विशाल साँघुको नाम वेस्ट मिनस्टर साँघु हो । ल यसो गर्नोस् । साँघुबाट यतातिर हामीलाई रमिता हेरिरहेका मानिसहरुलाई एकचोटी सबैले हात हल्लाई दिनुहोस ।”

उनको कुरो सुनेर हामी सबैजना आ-आफ्ना हात उठाउँछौं । क्रुजमा अन्दाजि ३ सय जना यात्रीहरुले सँगसँगै यात्रा गरिरहेका छौ । तर हामी सबैले एक्कैचोटी हात उठाएर हाइ हाइ भन्दा सारा लण्डन नै थर्केको मलाई त्यसबेला महसुस हुन्छ ।

माथि आकासतिर उठेका हाम्रा हातहरु मुनि झरेपछि क्रुज केहिबेर शान्त तर क्रमशः अगाडि बढि रहन्छ । अब अन्य सबैकुरो छाडेर एकछिन नदीमा भएका साघुँहरुका कुरा गरौं भनेर ऊँ फेरि सुरु गर्छ । आजाको मितिसम्म थेम्स नदीमा जम्मा २ सय साघुँहरु बनिसकेका छन् । अझै लण्डनको मात्र कुरो गर्ने हो भने यस नदीमा २१ वटा साँघुहरु छन् । तर थेम्स नदी नै बेलायतको सबैभन्दा लामो नदी चाहिँ होइन है । यहाँको सबैभन्दा लामो नदी त ‘सेभर्न नदी’ हो । जुन नदी कम्ब्रिया पर्वत वेल्सबाट सुरु भएर ब्रिस्टल जलसंयोजनमा पुगेर मिसिन्छ । त्यसको आधिकारिक लम्बाई २ सय २० माईल छ ।

जुलाई महिनाको मध्यान्हको समय छ । त्यसैले लण्डनमा टन्टलापुर घाम लागिरहेको छ । हुनत घाम जतिसुकै चर्को लागेको भएतापनि थेम्स नदीको सुदुर पुर्व क्षितिजदेखि बहेर आएको हावाको मन्दमन्द गतिले वातावरणलाई वातानुकुलित बनाइ रहेको आभाष हुन्छ । म जस्तो आर्थिक अवस्थाले बिलकुलै निम्छुरो मान्छे भएको हुनाले जिन्दगीमा यस्तो अवसर प्राय आक्कलझुक्कल मात्र पाउने गर्छु । तर आज चन्द्रमा ठेक्कै मेरो दाहिने पर्यो । त्यसैले मौकाको पूर्ण फाइदा लिइरहेको छु ।

एकछिनपछि माइकदेखि फेरि आवाज आउन थाल्यो, – “यो घर लण्डनको काउन्टि हल हो । घरको बिच भाग धनुष्टङ्कर आकारको छ । त्यसैले म यसलाई धुनष्टङ्कर घर भन्न रुचाउछु । तर अरुले जे सुकै भने भनोस् । मलाई के को मतलव ?” हाम्रो दाहिनेतिरको घर देखाउदै जोन थोरै उग्रवादी कुरो गर्छ । उनको त्यस्तो कुरो सुन्दा मलाई नेपालमा भेटिने कुनैकुनै बस सहचालकहरुले प्रयोग गर्ने भाषाको बेस्सरि याद आउछ ।

ऊँ फेरि थप्दै जान्छ, – “यो घर सन् १९२२ निर्माण भएको हो । त्यस घरको निर्माण भइसकेपछि राजा जर्ज आठौँले यस घरको उद्घाटन गरेका थिए,” त्यसपछि उनी रोकिन्छ र एकछिनपछि पुनः उनको कुरोले गति लिन सुरु गर्छ । “यस घरमा निक्कै लामो समयसम्म लण्डन महानगर पालिकाको कार्यलय रहेको थियो तर अहिले यहाँ छैन् । अहिले चाहिँ यहाँ के होला भनेर तपाईहरुले मनमनै प्रश्न गर्नु भयो होला ? यहाँ सामुन्द्रिक जीवन (सि लाईफ) अक्वेरियम रहेको छ ।

अब त्यहाँदेखि अलिक पछाडि हेर्नु होला । त्यसको ठीक पछाडि देखिएको ठूलो घर सेन्ट थोमस अस्पताल हो । जसमा ८ सय ४० अस्पतालका बिस्ताराहरु रहेका छन् । तै पनि यो लण्डनको सबैभन्दा ठूलो अस्पताल भने यो हुँदै होइन । यस सहरको सबैभन्दा ठूलो अस्पताल त सेन्ट जर्जेज अस्पताल हो । जहाँ १३ सय बिरामीहरु सुत्ने बिस्ताराहरु रहेका छन् ।”

“ल ल अब यता हेर्नुहोस । यो अजङ्गको रोटे पिङ जस्तो देखिने ‘लण्डन आइ’ हो र यो लण्डनको आकर्षणको मूख्य केन्द्रबिन्दु पनि हो । यस्को निर्माण स्रहस्राब्दी (मिलिनियम) मनाउने क्रममा सन् २००० मा भएको थियो । यस्को प्रमुख आर्किटेक मार्क्स बारफिल्ड हुन् । यो १ सय ३५ मिटर अग्लो छ र यस्मा औषधिको गोलि राखिने क्याप्सुलहरु जस्तै मानिसहरु बस्ने क्याप्सुलहरु छन् ।

ती क्याप्सुलहरु जम्मा ३२ वटा रहेका छन् र हरेक क्याप्सुलले लण्डन महानगर पालिकाको ३२ नगरहरु (बरो) को प्रतिनिधित्व गर्दछ । वास्तवमा यस्को निर्माण हुँदा नगरले ५ बर्षको लागि बनाउने अनुमति दिएको थियो । त्यसपछि भत्काएर अन्त कतै सार्ने योजना भएतापनि अत्याधिक मानिसहरुले यहिँ नै रुचाएको हुनाले अहिलेसम्म अन्त सारिएको छैन् ।”

उनको त्यति कुरो सुनिसकेपछि मेरो नजर नदीको बायाँ दिशातर्फ पर्छ । जहाँ चौबिसै घण्टा तीन तीनवटा झण्डा फरर फहराइ रहेको एउटा ठूलो घर देख्न सकिन्छ । त्यो झण्डाहरुले बेलायती स्थल सेना, जल सेना र वायु सेनाको प्रतिनिधित्व गर्छ । अथवा यो सैनिक मुख्यालय वा बेलायती रक्षा मन्त्रालयको कार्यलय हो ।

यो ह्वाइटहल सडक, सिटी अफ वेस्टमिन्स्टरमा पर्दछ । यस घरको डिजाइन सन् १९१५ मा भिन्सेन्ट ह्यारिसले गरेका हुन् । तर यसको निर्माण भने सन् १९३९ देखि १९५९ सम्ममा भएको थियो । जमिनभन्दा माथि १० तला र जमिन मुनि ३ तला रहेको उक्त भवनलाई सन् २००० देखि २००४ सम्म मर्मत गर्दा ७ सय ४६ मिलियन स्टर्लिङ पाउण्ड खर्च भएको थियो ।

बिसौ वर्ष पूर्व बेलायती गोर्खा सेना भएर काम गरेको हुनाले मलाई त्यतिसम्म थाहा थियो । त्यहिँमाथि जोनले, – “यिनै घर भित्रको कोठामा बसेर सैनिक वा गैरसैनिक अधिकारीहरुले अष्ट्रेलियादेखि अमेरिकासम्म कस्तो सुरक्षा निती अवलम्वन गर्ने हो भनेर सरसल्लाहा गर्ने गर्छन्,” भनेको सुन्दा तारा एकछिन छक्क परिन् ।

“त्यहाँदेखि अब तपाईहरुको मुन्टोलाई सिधै दायाँतर्फ लानु होला । अथवा बेलायती रक्षा मन्त्रालयदेखि बिपरित दिशामा खोला पारि हेर्नु भयो भने कुङलिङ्ग परेको एउटा पहेलो घर देख्न सक्नु हुनेछ । त्यो घरको निर्माण सन् १९५१ मा भएको हो । जुन घरभित्र बडेमा बडेमाका हलहरु रहेका छन् । तिनै हलहरुमा समय समयमा नाटक, सङ्गित र चलचित्रहरु देखाइन्छ । जस्ले गर्दा त्यस घरलाई राजकिय महोत्सव केन्द्र (रोयल फेस्टिभल सेन्टर) भनेर चिन्ने गरिन्छ । हरेक बर्ष साढे ४ मिलियन मानिसहरुले भ्रमण गर्ने त्यस ठाउँमा निःशुल्क महोत्सवहरु पनि हेर्न मिल्छ,” जोन त्यति भन्छ ।

“तर अब फेरि यता बायाँ हेर्नु होस् । रक्षा मन्त्रलयदेखि उँभोउँभो हेर्दै जानु भयो भने एउटा ठाडो स्मारक जस्तो देख्न सक्नु हुनेछ । जस्लाई लण्डनको क्लियोपत्र सुइ (ओवेलिक्स) भनेर चिनिन्छ र यो नदीको ठीक बायाँ किनारमा अवस्थित रहेको छ । यसो हेर्दा चारपाटे जस्तो देखिने तर खिइदै गएर टुप्पोमा चुच्चो भएको त्यो स्तम्भ वा स्मारकको निर्माण इसा पूर्व १५०० मा इजिप्टका तत्कालिन फेरो (राजा) थोटमस तेश्राले निर्माण गरेका हुन्,” त्यति पुरानो ऐतिहासिक कुरो सुनाउँछ ।

त्यति भनाइमा ऊँ सन्तुष्ट हुँदैन् र अझै थप्छ, – यो क्लियोपत्र सुइको निर्माण भएपछि यस्ले लगभग २ हजार बर्ष जति अलेक्जान्ड्रिय, इजिप्टमा हावा खायो । सन् १७९८ मा इजिप्टमा फ्रान्स र बेलायतको घमसान युध्द भएको थियो । तिनै युध्दलाई ‘नाइलको युध्द’ भनेर इतिहासकारहरुले भन्ने गरेका छन् । नाइल नदीमा भएको जलयुध्दमा बेलायती रियर एडमिरल होरासियो नेल्सनका सिपाहीहरुले फ्रेन्च जनरल नेपोलियन बोनापर्टको फ्लिटलाई अदभूत विजय प्राप्त गरेका थिए । तिनै युध्दमा बिजय प्राप्त गरे बापत उपहार स्वरुप इजिप्टले बेलायती जनताप्रति उच्चँ सम्मानको साथ उक्त क्लियोपत्र सुइ सन् १८७८ मा प्रदान गरेको थियो ।”

त्यति भनिसकेपछि जोन एकछिन चुपचाप बस्छ । सायद बोल्दाबोल्दा ऊँ अब थाकेका हुनसक्छ भन्ने मलाई त्यसबेला आभाष हुन्छ । उनि बोल्न छाडेपछि म लण्डनको गगनचुम्वी महलहरुको तस्वीर लिने निहुँमा उनको नजिकै पुग्छु । त्यहाँ पुगेपछि घोग्रो फुलाएर बोलिरहने जोनको शीरदेखि पाउसम्म एक झलक नजर मार्छु । बेलायती भट्टीपशलमा पाइने बियर टन्न पिएर मज्जाले भुँडी पल्टाएका जस्ता देखिने उनको शरिर भएपनि बोलिले भने मलाई बेस्सरि मोहित पारिरहेको हुन्छ । हरेक बिहान लण्डनमा झुल्कने झुल्के घामको गति सँगसँगै क्रुजमा पथ प्रदर्शकको भूमिका निर्वाह गर्न उनी यहाँ आइपुग्ने गर्दा रहेछन् ।

म उनको नजिकै छँदा नदीमा सलल बहिरहेको पानीलाई परवाह नगरि पर्खाल पारिपट्टी रहेको क्लियोपत्र सुइलाई पुनः एकचोटी मज्जाले नजर मार्छु । त्यसपछि दुनियाको अलौकिक सहर लण्डनमा बसेर इजिप्सियन इतिहासको बिषयमा एकझलक स्मरण गर्न थाल्छु ।

अनि क्लियोपत्र सातौंको बिषयमा एकछिन सोच्न थाल्छु । अलेक्जान्डर महानको सन्तान टोलिक राजबँशकी अदभुत शक्तिशाली महारानी क्लियोपत्रको जन्म इसापूर्व ६९ मा भएको थियो । इतिहासकारहरुले के पनि भनेका छन् भने उनी अरुजस्तै सजिलै रानी नभएर बिलकुलै फरक तरिकाबाट भएकी हुन् । उनी १८ बर्षकी हुँदा उनको बुबाको अचानक देहान्त भएको थियो । इजिप्सियन राजकीय परम्परा अनुसार राजाको जेठा छोरा राजा हुने भएकोले उनको भाई टोलमी आठौँ राजा भयो ।

आफ्नो भाई फारो (राजा) आफुभन्दा लगभग ८ बर्ष कान्छा थिए । भाई राजा भएपछि उनले तिनै भाईसँग बिहे गरेर उनी आँधा देशको रानी बनिन् । भनिन्छ – इसा पूर्व ५१ देखि ३० सम्म लगभग २१ बर्ष शासन गर्दा उनले आफ्नो श्रीमानलाई बिजय गरेर पछि इजिप्टको एकक्षत्र शासन गरेकी थिइन  क्रुजले हङ्गरफोर्ड साँघु पार गरेपछि गति घटाउँदै जान्छ । त्यसपछि निक्कै लामो समयसम्म रोकिएको जोनको मुख पुनः खोलिन सुरु गर्छ ।

“हामी पानीको वेग रोकिने स्थल (इमबेङ्मेन्ट पियर) मा रोकिन गइरहेका छौ । यदि यहाँ कोहि उत्रनु चाहनु हुन्छ भने उत्रनु सक्नु हुन्छ । आजको मौसम पनि ज्यादै राम्रो भएको हुनाले नयाँ यात्रीहरु निक्कै धेरै क्रुजमा आउने छन् । तर त्योभन्दा अगाडि एकपटक मेरो कुरो ध्यान दिएर सुनिदिनु होला ?”

म यहाँबाट निक्कै टाढा लन्डनको हेनडन भन्ने ठाउँमा बस्छु । मेरो घर पुग्न भुमिगत रेलदेखि लगभग ४५ मिनेट जति समय लाग्छ । दिनभरि काम गरेर घरमा पुग्दा प्राय सबैको आफ्नो श्रीमान वा श्रीमती हुन्छन् । तर दुर्भाग्यबस मेरो अवस्था त्यस्तो छैन् । साच्चै साच्चै भन्नु पर्दा मेरो अवस्था अति दयनिय छ । अत्याधिक मादक पदार्थ सेवन गर्ने भएकी हुनाले मैले मेरी श्रीमतीसँग पारपाचुके गरिसकेको छु । खयर जे सुकै होस । मेरो घरमा दुईजना स-साना भाल्टाङभुल्टुङहरु छन् र उनीहरुलाई पाल्ने मेरो उत्तरदायित्व भएको छ ।

जस्तो कि यहाँहरुलाई अवगत भएकै कुरो हो । लण्डनमा हरेक कुरोहरु महङ्गो छ । तैपनि तपाईहरुसँग पैसा छ र त संसारको बिभिन्न देशहरुबाट यहाँ छुट्टी मनाउन आउनु भएको छ । तपाईहरुको छुट्टी मनोरन्जनात्मक होस भनेर कामना गर्दै गर्दै अब म मुनि तलामा जान्छु । मुनि तलामा क्रुजबाट बाहिर जमिनमा निस्कने सानो भर्याङ (ग्याङ वे) रहेको छ । हो, म त्यहिँनेर एउटा कालो टोपी थापेर बायाँ छेउमा उभिरहेको हुन्छु । तपाईहरु जो जो क्रुजदेखि बाहिर निस्कनु हुन्छ । र, जे जति चानचुने पैसाहरु दिन सक्नु हुन्छ, कृपया मलाई दिनु होला ।

“तर छाती ठूलो छ वा विशाल हृदय छ भने जेन अस्टिनको तस्विर भएको एउटा नोट (स्टर्लिङ पाँच पाउन्ड) दिनु होला ? होइन भने विन्स्टन चर्चिलको तस्विर भएको भएपनि एउटा नोट (दश पाउन्ड) खुत्रुक्कै टोपिमा हालि दिनु भयो भने मेरो छोराछोरीले भरै बेलुकि टन्न खाना खान पाउँथे,” – उनी भन्छन् ।

त्यतिभनि सकेपछि उनको शरिर हामीदेखि बिलय हुन्छ । उनी मुनि तलामा झरेपछि हामी चुपचाप क्रुजको माथिलो तलामा घाम तापेर बसिरहेका हुन्छौं । एकछिनपछि क्रुज रोकिन्छ । त्यसपछि नयाँ यात्रुहरु धमाधम तलामाथि उक्लन थाल्छन् । सबैजना यात्रृहरु कुर्सिमा आरामले बसिसकेपछि क्रुजले पुनः गति लिन सुरु गर्छ । यतिकैमा हस्याङफस्याङ गर्दै जोन हाम्रो नजिकै आइपुग्छ तर हाम्रो नजिक आउने बितिक्कै ख्याक्क एकचोटी खोक्छ । त्यसपछि लामो सास तान्छ र सुस्तरि अगाडि बढेर क्रुज चालकको नजिक पुग्छ ।

क्रुज बहन थालेको केहिबेरमा हामी वाटरलु साँघु पुग्नै लागेको हुन्छौं । “ल ! मेरो बायाँ हेर्नु होला,” ऊ अर्को चोटी फेरि ख्वाक्क खोकेर घाँटी सफा गर्छ । त्यसपछि, “मलाई माफ गर्नु होला है,” भनेर पुनः बोल्न सुरु गर्छ । उनले छाडेका शब्दहरु हावामा बिलीन हुन पाउदा नपाउदै हामी सबैको टाउको बायाँ दिशातर्फ घुम्छ ।

“आम्मामा ! हेर्नुहोस त बायाँ भित्तामा पहरो जस्तो देखिने भिमकाया बिल्डिङ ।” उनको कुरो सुन्ने बितिक्कै हामी सबै त्यतातिर हेरेर एकछिन मन्त्रमुग्ध हुन्छौं । उनी एकछिनसम्म रोकिन्छ, केही बोल्दै बोल्दैन । त्यतिबेला हामी सबै उनले छाड्ने अर्को शब्दको प्रतिक्षा गरिरहेको हुन्छौं ।

“यो होटल सेभोइ – लण्डन हो,” निक्कैबेरपछि उनको मुख खोलिन्छ । “सन् १८८९ यस्को निर्माण हुँदा यो विश्वको सबैभन्दा पहिलो बिजुली भर्याङवाला होटल बनेको थियो । अझै होटलको हरेक कोठाकोठामा शौचालय राखेपछि अति सुबिधा सम्पन्न होटल भनेर यस होटलले सुप्रसिध्दि कमाएको थियो । अब त्यस्तो होटललाई तपाईहरुले शानदार, विलासी, रवाफी, सोखी वा लग्जरियस भनेर जुनसुकै शब्दले सुशोभित गरेपनि यहाँहरुको हातैमा छ ।

तर मलाई सोध्नु हुन्छ भने यो बेलायतको सबैभन्दा पहिले बनेको सुखभोगी होटल भन्न म हिच्किचाउदिन । यो जुन स्थानमा निर्माण भएको छ । त्यो जग्घा दशौ शताब्दीदेखि ड्युक अफ सेभोइको थियो । जस्ले गर्दा यस होटलको नाम सेभोइ लण्डन रहन गएको हो । स्ट्राण्ड लण्डनको यति विलासियुक्त्त होटलमा मलाई पनि एकचोटी होटलभित्र छिर्न रहर लागिरहेको छ । तर मेरो उमेरले ५० हिउँदहरु काटिसकेका छन्, सेभोइ छिर्ने सौभाग्य अहिलेसम्म जुरि हालेको छैन्,” भनेर उनी एकछिन अवाक हुन्छन् ।

दिउँसोको समयमा थेम्सको पानी अविरल गतिमा पूर्व दिशातर्फ बहिरहेको छ । यहाँनेर नदीको गहिराई लगभग ६६ फिट र चौडाइ २ सय ५० मिटर जति फराकिलो रहेको छ । पानीको प्रवाह र ज्वारभाटा जतासुकै बहेको भएतापनि जोनको कुरोले मलाई होटल सेभोइ जाँदाको याद बेस्सरि दिलाई दिन्छ । यस मानेमा म उनीभन्दा थोरै भाग्यमानि मान्छे परेछु भन्ने मलाई त्यसबेला बोध हुन्छ । सेभोइ जाँदाको कुरो स्मरण गर्दैगर्दा मलाई अचानक ताराको मुहार हेर्न मन लाग्छ । मेरो त खै के भन्ने र ? ताराका ती पाइतालाहरु पनि कमि भाग्यमानी छैनन् । संसारलाई घरिघरि चक्कर लगाइ रहने उनको पाइतालाहरु भनेर मनमनै तरङ्गित हुँदै त्यति भन्छु ।

कुरो लगभग चार बर्ष अगाडिको हो । “अङ्ग्रेजी ल सोसाइटी” लण्डनमा अङ्ग्रेजी कानूनको बिधार्थी मेरी छोरीले बेलायती सोलिसिटरको कसम खाइसकेपछि सेभोइ ग्रिल पुगेर एक छाक खाना खाने है भनेर मैले नै सबैजनालाई कर गरेको थिएँ । हुनत म बुईपा, खोटाङदेखि बेलायत अस्थायी बसाइ सरेको मान्छे । अझ यसो भनौ – बुईपादेखि बेलटार नुन बोक्ने या फत्तेपुरसम्म पुगेर चामल बोक्ने एकजना ढाक्रे मान्छे । तीनताका बोकेको ढाकरले पारेको डाम ढाडदेखि मेरुदण्डसम्म छोएको अनुभूति अहिलेसम्म भैरहेकै छ ।

अब त्यस्तो पृष्ठभूमी भएको मान्छेले खास्सै त्यति विलासियुक्त्त स्थानमा जान उपयुक्त्त त निश्चय पनि हुदैनथ्यो । तर बेलायतको त्यति प्रसिध्द स्थल ल सोसाइटीदेखि आफ्नो छोरी सोलिसिटर हुँदा गर्वले मेरो छाती कति फुलिएको थियो भनेर म शब्दमा बर्णन गर्न सक्त्तिन । त्यसैले हामी त्यसदिन त्यता जाने है भनेर निधो गरेका थियौं ।

बेलुकीको समय त्यस्तै ९ बजेको हुनुपर्छ । हामी सपरिवार होटलको प्रवेशद्वार नजिकै रहेको फोयरमा पुग्छौं । होटलको फोयर ज्यादै आकर्षक भएको हुनाको हामी सबैजना एकछिन मन्त्रमुग्ध हुन्छौं । त्यहाँदेखि नजिकै एउटा भट्टिपसल पनि देखापर्छ । मेरो छोरोको बानि पनि एक प्रकारले अचम्मको नै मान्नु पर्छ । त्यति नजिकै भट्टिपशल देख्ने बितिक्कै उनलाई हरहर बियरको तिर्खा लागिहाल्छ । एकजना बाबु भएको नाताले छोराको इच्छा बिरुध्द म के जान सक्थें हुँला र ? त्यसैले उनले भने अनुसार हामी भट्टी पसलमा जान्छौं र एक-एकवटा पेय पदार्थ पिउछौं ।

एकछिनपछि होटलको भित्तामा सजिएको घडिले टिङलिङ्ग गर्दै बेलुकिको समय १० बजेको सूचना दिन्छ । त्यसपछि सुस्तरी हिडेर हामी होटलभित्र रहेको रेष्टुराँ “सेभेइ ग्रिल” भित्र छिर्छौ । रेष्टुराँ आरक्षण गर्दा जतिसुकै बेली बिस्तारा लगाएपनि त्योभन्दा अगाडिको समय हामीले पाउन सक्दै सकेका थिएनौ । आ… धिलो भएपनि ठीक्कै छ है भनेर उक्त्त समयलाई मनले नमानि नमानि हामीले स्वीकार गरेका थियौं ।

सेभोइ ग्रिल विश्व प्रसिध्द स्कटिस भान्से गोर्डन राम्जिको रेष्टुराँ हो । करिव करिव मिलियन स्टरलिङ पाउण्ड खर्च गरेर बनाइएको उक्त रेष्टुराँमा उनले बिफ वेलिङ्टनको अविस्कार नै गरेका हुन् भन्दा पनि खास्सै फरक पर्दैन । अति बिकसित देशका राजा महाराजा, राष्ट्रपति र प्रधानमन्त्रिहरुले ठूल्ठूलो शिखर सम्मेलनहरुमा जीब्रो पटकाइ पटकाइ खाने त्यो गाइको मासुको नाम आर्थर वेलेस्लि (प्रथम ड्युक अफ वेलिङ्टन) को नाममा उनले राखेका हुन् ।

वेलिङटनले बहुत चर्चित “वाटरलु युध्द” मा नेपोलियन बोनापार्टलाई पराजय मात्र गरेनन् कि आठ-आठ पटक युध्दमा घायल भएको नेपोलियनको सबैभन्दा प्यारो वा प्रख्यात घोडा ‘मरेङ्गो’ पनि खोसेर बेलायत ल्याएको थियो । ३८ बर्ष बाँचेको त्यो घोडाको मृत्यु भएपछि अहिले त्यसको अस्थिपञ्जर राष्ट्रिय सैनिक सङ्ग्राहलय लण्डनमा राखिएको छ ।

यिनै कुरोहरुलाई स्मरण गर्दा म कुनैबेला अलिक अचाहिँदो नै भावुक बन्ने रहेछु । म त्यसबेला पनि थेम्समा बहदै आएको मन्द मन्द हावाको गतिसँगसँगै गोर्डन राम्जिको “बिफ वेलिङ्टन” को स्वाद चाखेको अनुभव सम्झदै बिर्सदै गरिरहेको हुन्छु । र, निरन्तर वाटरलु युध्दको सम्झना गर्दै गर्दै हामीले पार गर्नै लागेको थेम्स नदीको “वाटरलु साँघु” लाई एकोहोरो हेरिरहेको छु । तर म त्यसरि भावुक बनिरहँदा अचानक ताराले मेरो पछाडिदेखि, – “हेर ! क्या बिधि घाम चर्केको । केही चिसो पिउने कुरो लिएर आउनु न हौ – राजा ?” बर्षे पानीझै हुकुम बर्षि हाल्छ ।

उनले त्यति भनेपछि प्रतिउत्तरमा “हुन्छ – हुन्छ,” भन्छु ।

केहि बाद बिबाद गर्दिन बरु बसिरहेको ठाउँदेखि जुरुक्कै उठेर लुरुलुरु हिँडिहाल्छु । त्यसरि बसिरहेको स्थानदेखि उठेर हिँडेपछि मुनि तलामा झर्छु र बारको नजिकै पुग्छु । बारको सिधै अगाडि ४-५ जना मान्छेहरु उभिरहेका देखिन्छन् । म पनि उनीहरुको पछाडि पुगेर लामबध्द हुन्छु । क्रुजभित्रको बार आकारमा अलिक सानो नै छ । सायद सानो ठाउँ भएकोले होला, बारम्यानलाई यता र उता समानहरु खोज्न निक्कै मुस्किल परिरहेको त्यहाँ स्पष्ट देख्न सकिन्छ ।

एकछिनसम्म पेय पदार्थ खरिदकर्ता र बारम्यानको खेल हेरिरहन्छु । मलाई उनीहरु एकआपसमा बोलेको सुन्न रमाइलो लाग्छ । तर अचानक के भयो हो कुन्नि ? मभन्दा अगाडिको एकजना मान्छेले अगाडिपछाडि गर्दा एक्कासि मेरो खुट्टा कुल्चि दिन्छ ।

उनले खुट्टा किल्चिने बितिक्कै, “ऐय्या ! मारिहालिस नि मोरा,” भन्छु । म त्यसरी कराएको सुनेर, “मलाई माफ गर्नुहोस है, मैले त तपाईको खुट्टा देख्दै देखिन छु,” उनले जबाफ फर्काउँछ । उनले त्यति भनिसकेपछि म पहिले उनको अनुहार हेर्छु । त्यसपछि क्रमशः शिरदेखि पाउसम्म नियाल्छु । मभन्दा दुई ज्यान जस्तो ठूलो मान्छे मेरो सामुन्ने देखेपछि, “कुनै सुर्ता गर्न पर्दैन,” भनेर बरु उल्टै शान्त्वना दिन्छु । तर उनको बोल्ने शैली सुनेपछि, “होइन ! तपाई कहाँदेखि पाल्नु भएको हो नि, महाशय ?” भनेर उल्टै सोध्छु ।

“ब्युनस आइरिस,” छोटकारिमा जबाफ फर्किन्छ । उनले त्यसो भनेपछि म एकपटक खन्द्रङ्ग झस्किन्छु । किनभने कुरो यस्तो थियो । सन् १९८२ मा बेलायत र अर्जेन्टिनाको फकल्याण्ड (मालभिना) मा घमसान युध्द भइरहेको थियो । म त्यसबेला गाउँमा आफ्नो छाती, तौल र उचाई नापेर बेलायती गोर्खा सेनामा भर्ति हुन खोजिरहेको थिए । तर गल्लावालले, “अहिले तिमी अलिक कलिलो छौ । यस बर्ष घर फर्केर जाउँ ।

एक दुई बर्षमा फेरि कोशिस गर है,” भन्यो । त्यतिबेला उनको कुरो सुनेर म सरासर घर फर्के । तर त्यसको दुई बर्षपछि म गोर्खा भर्ति भएको थिएँ । त्यतिबेला नै भर्ति भएको हो भने त्यति ठूल्ठूलो मान्छेहरुसँग युध्दमा भिडनु पर्ने रहेछ भनेर एकछिन थरङ्गै भएँ । उनले आफ्नो पालो आएपछि केही पेय पदार्थहरु खरिद गरे र आफ्नो बाटो तताइ हाले । त्यसपछि भट्टिपशलमा मेरो पालो आउँछ ।

“हजुर ! बियरको दाम कति होला ?” सानो स्वरमा बारम्यानलाई सोध्छु । “पाँच पाउण्ड,” छोटो जबाफ फर्कन्छ । उनको भनाई सुनेपछि जाबो त्यति सानो बोतललाई पनि त्यति महङ्गो मनमनै भन्छु र एकचोटी टाउको छाम्छु ।

“पानीलाई चाहिँ कति नि ?” नरम भएर सोध्छु ।

“पाँचै पाउण्ड तर दुई बोतल आउँछ,” भन्छ ।

“अनि किन दुई बोतल चाहिँ ?” फेरी सोध्छु ।

“खुद्रा छैन् र हो,” खितिति हास्दै जबाफ फर्काउछ ।

“गर्मी पनि अचाक्ली नै छ । थेम्स नदीमा जाबो पानी त सितैमा दिए पनि हुने हौ ?” भन्छु ।

“म पनि त्यहिँ चाहन्छु,” बारम्यानले जबाफ फर्काउँछ ।

“ल ल भैगो ! दुई बोतल पानी नै दिनुहोस्,” भन्छु ।

त्यसपछि दुई हातमा एक एकवटा पानीको बोतल बोक्छु र सुइसुइ तलामाथि चढ्छु । जब ताराको नजिकै पुग्छु । जोनले समरसेट हाउसको बिषयमा बयान गरिरहेको कथा सुन्न थाल्छु ।

वास्तवमा आजभन्दा २ सय ४७ बर्ष अगाडि निर्माण भएको समरसेट हाउस एकदम भव्य दरवार हो । जहाँ बेलायतको हिरा, मोती, मणि र जुहारतहरु राखिएका छन् । अझै यसलाई पश्चिमी कलाको त केन्द्र बिन्दु नै मान्नु पर्छ । किनभने यहाँ भ्यानगग, मोने र डेगासका कलाहरु मज्जाले सजाएर राखिएका छन् । लण्डनको मुटु मानिने स्थान स्ट्रान्डमा रहेको यो “नियो क्लासिक घर” को डिजाइन चाहिँ सर विलियम च्याम्बरले गरेका हुन् । अनि ड्युक अफ समरसेटको नाममा रहन गएको “समरसेट हाउस – लण्डन” म पहिले नै पुगिसकेको थिएँ ।

करिव ९० लाख जनसख्यां रहेको लण्डनमा भएका अनगन्ती गगनचुम्वी महलहरु पार गर्दै क्रुज ब्लाकफ्रिएज साघुँ पुग्नै लागेको छ । ठीक त्यहिँबेला, – “ल ! हाम्रो ठीक बायाँ पट्टि रहेको घरलाई एकझलक नजर लगाउनोस है,” भनेर जोनले एकपटक जोड दिएर भन्छ । उनको कुरो सुन्ने बितिक्कै हामी सबैजना आ-आफ्ना मुन्टो त्यता फर्काइ हाल्छौं ।

“म तपाईहरुलाई यसपटक एउटा यस्तो घर देखाउन गइरहेको छ । जस्लाई पवित्र मन्दिर (टेम्पल वा इनर टेम्पल) भनेर चिन्ने गरिन्छ । जहाँ अङ्ग्रेजी कानूनका बिज्ञ ब्यारिस्टरहरुले आफ्नो तालिम गर्ने गर्छन् ।”

जोनले टेम्पलको बारेमा त्यतिमात्र भनेर बिसाए । खै किन हो कुन्नि ? उनी त्यसको बारेका त्यति धेरै बोल्न चाहेनन् । मेरो मनभित्र लाग्छ । सायद ऊँ बेलायती कानूनप्रति बेखुसि हुनसक्छ ? हुन पनि एक प्रकारले कुरो ठीक्कै हो । यहाँ जतातिर फर्के पनि कानून र नियमसँग मात्र जम्काभेट हुने गर्छ । जस्लेगर्दा उनी नबोलेको पनि हुनसक्छ भन्ने मलाई लाग्छ । तर कस्लाई के पत्तो र ? वा त्यस सम्बन्धि गहन अध्यान नभएर पनि हो कि ?

जोनले टेम्पलको बिषयमा केहि कुरो नभनेपनि खाट्टी कुरो चाहिँ यस्तो छ । बेलायतमा साधरणतय कानून सम्बन्धि पेशा गर्ने मानिसहरु वा कानूनविज्ञहरु जम्मा दुई प्रकारका हुन्छन् – पहिलो सोलिसिटर र दोश्रो ब्यारिस्टर । सोलिसिटरले कागजपत्र मिलाउने काम गर्छन भने ब्यारिस्टरले अदालतमा बहस गर्ने काम गर्दछन । इङ्गल्याण्ड र वेल्समा गरेर ब्यारिस्टरहरुको सख्यां लगभग १७ हजार र सोलिसिटरहरु झण्डै १ लाख ५५ हजारको हाराहारीमा रहेका छन् । तर स्कटल्याण्डमा भने यहाँको भन्दा बिलकुल फरक कानून रहेको छ ।

वास्तवमा अङ्ग्रेजी इतिहासले के बताउँछ भने लगभग एघारौ शताब्दीतिर जेरुसेलममा रहेको मन्दिर पहाड (टेम्पल माउन्ट) जस्तै एउटा मन्दिर होस भनेर यहाँ पनि एउटा मन्दिर खडा गरिएको थियो । जुन मन्दिरलाई होलबर्न, लण्डनदेखि ल्याएर थेम्स नदीको किनारमा यहिँनेर राखिएको हो । समय क्रममा लण्डनमा ठूलो कृषि क्रान्ति भयो । जुन क्रन्तिले लण्डनको धेरै घरहरु जलेर खरानीमा परिणत भयो । त्यसले टेम्पलको केहि घरहरु पनि नष्ट भएका थिए । कालान्तरमा त्यहाँ क्रमशः नयाँनयाँ घरहरु थपिदै गए र अहिले टेम्पलमा ४४ वटा घरहरु रहेका छन् ।

मैले यहाँ टेम्पलको कुरो गरिरहँदा कुलिन परिवारमा जन्मेका तर जसरि पनि छुटाउनै नमिल्ने एकजना मानिसको नाम विलियम मार्शल (प्रथम अर्ल अफ पेमब्रोक) हुन् । बेलायती इतिहासमा उनको नाम सुनौला अक्षरले लेखिएको छ । सम्भवत उनी तत्कालिन राजपरिवारको सबैभन्दा बढि पृय तथा इमान्दार सल्लाहकार अथवा महान शुरबिर (नाइट) पनि हुन् । यस धर्तिमा ७२ बर्षसम्म जिबित रहेका मार्शलले ५ जना अङ्ग्रेजी राजाहरु हेनरी दोश्रो, युवा हेनरी, रिचार्ड प्रथम, जोन र हेनरी तेश्रोको सेवा मात्र गरेनन् । उनीहरुको अति नजिकका विश्वासको पात्र पनि भएका थिए ।

विलियमले आफ्नो जिन्दगीमा राष्ट्रको लागि युध्दमा होस् वा शान्तीको समयमा धेरैधेरै राम्रा कामहरु गरेका उदाहरणहरु प्रशस्त छन् । त्यसमध्ये सबैभन्दा राम्रो काम त के गरे भने राजा जोन र ब्यारोनहरु बिच भइरहेको नागरिक युध्द समाप्त गरेर मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दै म्याग्नाकार्टा (द ग्रेट चाटर्ड) लेखेका छन् । हुनत म्याग्नाकार्टा ल्याटिन भाषामा लेखिएको भएतापनि अहिलेसम्म पश्चिमी इतिहासको सबैभन्दा महत्वपूर्ण दस्तावेज वा अभिलेख मानिन्छ ।

म्याग्नाकार्टामा मुख्यतः तीनवटा कुरोहरुलाई बिशेष प्राथमिक्त्ता दिइएको छ । पहिलो कुरो राजा कुनै पनि हालतमा कानूनभन्दा माथि हुनुहुदैन । दोश्रो सबै स्वतन्त्र पुरुषहरुलाई निष्पक्ष न्यायको अधिकार हुनेछ र तेश्रो सबै नागरिकहरुले सम्पतिको स्वमित्व ग्रहण गर्न पाउने छन् ।

वास्तवमा निरङ्कुश राजा जोनले आफ्नो अधिकार नष्ट गरेर अन्य साधरण जनताले जस्तै कानून मान्नु पर्ने म्याग्नाकार्टाहरु कति वटामा सहिछाप गरे त्यो त म यहाँ ठेक्कै भन्न सक्त्तिन । किनभने पहिलो म्याग्नाकार्टा १५ जुन १२१५ मा जारि गरिएको थियो । त्यसपछि क्रमशः १२१६, १७ र २५ मा पटक पटक त्यसको हेरफेर गरिएका छन् ।

आखिर जे सुकै भएतापनि तत्कालिन समयमा लेखिएका ४ वटा सक्कलि म्याग्नाकार्टाका पानाहरु अध्यावधि बाँकी नै रहेका छ्न । जसमध्ये दुईवटा बेलायती सङ्ग्राहलय लण्डनमा रहेका छन् तर दुर्भाग्यबस सन् १७३१ को भिषण आगलागिले एउटा म्याग्नाकार्टाको आँधाभाग जलेर नस्ट भइसकेको छ । अन्य दुईवटा मध्ये एउटा सल्सबरी क्याथेड्रल र अर्को लिङ्कन क्याश्चलमा अवस्थित छन् ।

हुन त बेलायतीहरु पैसालाई छैटौं इन्द्रिय झैं मान्ने गर्दछन । हुन पनि हो, आखिर पैसा बिना यहाँ केहि चल्ने वाला देखिदैन् । यदि एउटा म्याग्नाकार्टालाई अहिलेको भाउमा बेच्ने हो भने त्यसको दाम लगभग २० मिलियन पाउण्ड हुन आउछ । तैपनि निरङ्कुश राजाबाट सार्बभौम अधिकार खोसेर जनताले लिएको यो नै सँसारको सबैभन्दा पहिलो अधिकार मान्ने गरिन्छ । जस्ले गर्दा यसको दामभन्दा पनि इङ्गल्याण्डलाई प्रजातन्त्रको जननी भनेर अहिलेसम्म चिनिन्छ ।

अङ्ग्रेजी नागरिक युध्द सकेर म्याग्नाकार्टाको लागि मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने वहुचर्चित व्यक्त्ति विलियम मार्शलको १४ मे १२१९ मा मृत्यु भए पश्चात् उनको समाधिस्थल यिनै टेम्पलको गिर्जाघरमा सुरक्षित तवरले राखिएको छ ।

पहिले पहिले तिर्थयात्रीहरुको सुरक्षाको लागि सुरु भएको (नाइट्स टेम्पलर) हजारौ बर्षको इतिहासमा कानून व्यावशायीहरुको पेशामूलक व्यवशायिक सङ्गठनमा परिणत हुँदै आएको छ । यो यिनै थलो हो, जहाँ संसदले बनाएको लिखित कानूनको सट्टामा अदालतको निर्णयमा आधारित कानूनहरुको प्रणाली (कमन ल) जन्मेको थियो । समय खारिदै जाँदा टेम्पललाई अहिले इन्स कोर्ट पनि भन्ने गरिन्छ । जस्लाई ४ भागमा बिभाजन गरिएका छन् – ग्रेज इन, लिङ्कन इन, इनर टेम्पल र मिडल टेम्पल ।

आजभोलि टेम्पलमा लगभग २ हजार जति ब्यारिस्टरहरुले काम गर्ने गर्दछन । तैपनि १२ हजार जति ब्यारिस्टर र न्यायधिसहरु यसका सदश्य रहेका छन् । इङ्गल्याण्ड र वेल्समा ब्यारिस्टर काम गर्न चाहने हरेक इच्छुक व्यक्तिले यहिँ ब्यारिस्टर तालिम लिनु पर्दछ ।

अ…यो लेख लैख्दै गर्दा यहाँहरुलाई के कुरोको पनि जानकारी गराउ भने दक्षिण एशियाका चर्चित नेताहरुमध्ये गान्धी, नेहरु, अलिखान, अबदुल रहमान र भन्डारानाइकेहरुले पनि यहिँ ब्यारिस्टरका तालिम लिएका थिए । क्रमशः