पत्रकारलाई जलाएर हत्या गरिएको भन्दै विरोध

खोटाङ, १७ चैत । राजावादीको हिंसात्मक आन्दोलनको क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको भन्दै खोटाङका पत्रकार बिरोधमा उत्रिएका छन् । आन्दोलनको भिडियो खिचिरहेका पत्रकार रजकलाई एउटा कम्प्लेक्सभित्र थुनेर आगो लगाएर जलाएर हत्या गरिएको भन्दै नेपाल पत्रकार महासंघ शाखाको नेतृत्वमा जिल्लाका पत्रकार बिरोधमा उत्रिएका हुन् ।

पत्रकार हत्याको बिरोधमा खोटाङका पत्रकारले चैत १६ गते हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । रिपोर्टिङमा हिँडेको पत्रकारले जिउँदै जलेर मर्नुपर्ने अवस्था आउनु र सञ्चार–गृहमाथि आक्रमण हुनु दुःखद भएको नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष हरिबोल आचार्यले बताए ।

महासंघले प्रेस विज्ञाप्ती जारी गर्दै मुलुकको व्यवस्थामाथि नै प्रहार गर्नेगरि सञ्चार–गृह र पत्रकारमाथि भएको हर्कतको कडा शव्दमा भत्र्सना गरेको छ । महासंघका सचिव राजकुमार भट्टराईले जारी गरेको विज्ञाप्तीमा घटनाको निष्पक्ष छानविन गरि दोषीमाथि हदैसम्मको कारबाही गर्न सरकार समक्ष माग गरिएको छ । सञ्चारकर्मीलाई भयमुक्त वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न महासंघले आग्रह गरेको छ ।

यस्तै, नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल खोटाङले पनि विज्ञाप्ती जारी गर्दै पत्रकार हत्याको बिरोध गरेका छन् ।