लगातार दोश्रो दिन कालोपट्टी बाँधेर सञ्चारकर्ममा

खोटाङ, १७ चैत । राजावादीको हिंसात्मक आन्दोलनको क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा खोटाङका पत्रकारले लगातार दोश्रो दिन हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । नेपाल पत्रकार महासंघ शाखाको नेतृत्वमा चैत १६ गते नै हातमा कालोपट्टी बाँधेर कर्मक्षेत्रमा खटिएका पत्रकारले दोश्रो दिन पनि कालोपट्टी बाँधेर कामलाई निरन्तरता दिएका हुन् ।

चैत १७ गते भने केन्द्रीय समितिको निर्देशन अनुसार हातमा कालोपट्टी बाँधेर काम गरिएको नेपाल पत्रकार महासंघ शाखा, खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताए । आन्दोलनको भिडियो खिचिरहेका पत्रकार रजकलाई एउटा कम्प्लेक्सभित्र थुनेर आगो लगाएर जलाएर हत्या गरिएको भन्दै नेपाल पत्रकार महासंघ शाखाको नेतृत्वमा जिल्लाका पत्रकार बिरोधमा उत्रिएका छन् ।

चैत १५ गते राजावादी समूहले काठमाडौंमा गरेको आन्दोलनका क्रममा तीनकुनेस्थित एक कम्प्लेक्समा आगजनी गरिएको थियो । त्यही कम्प्लेक्सबाट भिडियो खिचिरहेका रजकलाई बाहिरबाट ताल्चा लगाएर थुनिदिएका थिए । बाहिरबाट ताल्चा लगाइएका कारण निस्कन नपाउँदा उनको त्यही जलेर मृत्यु भएको थियो ।

‘आन्दोलनकर्मी वा लुटपाटमा संलग्न समुहले पत्रकार रजकलाई थुनेर आगो लगाएको हो’ भन्ने तथ्य खुल्न बाँकी छ । उनको हत्या भएको बिरोधमा नेपाल पत्रकार महासंघले देशभर बिरोधका कार्यक्रम गरिरहेको छ ।