अगाडि बियर राखेको तस्बीर पोष्ट गरेपछि…

खोटाङ, १७ चैत । फेसबुकमा गरिएको पोष्टका कारण खोटाङका एक शिक्षक तनावमा परेका छन् । अगाडि बियरको बोत्तल र गिलाससहितको तस्बीर पोष्ट गर्दा केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्बी माविका शिक्षक बलबहादुर अधिकारी तनाव झेल्न बाध्य बनेका हुन् ।

शिक्षक अधिकारीले चैत १६ गते ‘यसो गर्दा पो जनजाति भइन्छ कि ?’ भन्ने स्टाटस सहित अगाडि बियरको बोत्तल र बियर भरिएको गिलास देखिने आफ्नो तस्बीर पोष्ट गरेका थिए । सो स्टाटसप्रति आदिवासी जनजाती संगठनहरुले आपत्ती जनाएपछि अधिकारीले चैत १७ गते पोष्ट डिलेट गरेर माफी नै मागेका छन् ।

शिक्षक अधिकारीले गत होलीको दिन स्टाफसँग विद्यालयकै क्यान्टिनमा खानपिन गर्नेक्रममा खिचेको तस्बीर पोष्ट गरेका थिए । उनले व्यक्तिगत सम्झनाको लागि भन्दै तस्बीर र स्टाटर पोष्ट गरे पनि जनजाती संगठनले विज्ञाप्ती नै निकालेर विरोध जनाएका छन् ।

स्टाटसले जनजाती समुदायको संस्कार संस्कृतिलाई होच्याउने, जातीय सद्भाव भड्काउने र जनजातीप्रति गलत धारणा सिर्जना गरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला कार्य समिति खोटाङ, किरात साम्पाङ राई जुम्लेखा नेपाल, जिल्ला कार्य समिति खोटाङ लगायतले विज्ञाप्तीमार्फत आपत्ती जनाएका छन् ।

यस्तै, केपिलासगढी गाउँपालिकामा क्रियासिल किरात राई यायोक्खा, नेपाल आदिवासी जनजाति महासंघ र सचेत युवा समूहले पनि शिक्षक अधिकारीको स्टाटसले जनजातीलाई होच्याउने काम गरेको उल्लेख गरेका छन् । शैक्षिक संस्थाको क्षेत्रभित्र मादक पदार्थ सेवन गरिएको, आदिवासी जनजातीको संस्कृति तथा सामाजिक पहिचानमा असर पुग्ने स्टाटस लेखेको विज्ञाप्तीमा उल्लेख छ ।

शिक्षक अधिकारी बिरुद्ध ज्ञापन–पत्र बुझाउनका लागि आदिवासी जनजाती महासंघका अध्यक्ष फुर्वादोर्जी शेर्पाको नेतृत्वको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । तर बेलुकाको ५ बजेभन्दा पछि पुगेको भन्दै प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले कार्यालय समयमा आउन भनेपछि महासंघको टोली फर्किएर पत्रकार सम्मेलन गर्न नेपाल पत्रकार महासंघको कार्यालय पुगेको थियो ।

जनजाती महासंघले सामाजिक सञ्जाललाई जिम्मेवारपुर्वक प्रयोग गर्न र एकअर्काको संस्कृति, परम्परा तथा पहिचानप्रति सम्मानजनक व्यवहार गर्न अपिल गरेको छ । केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले सो तस्बीर र स्टाटस नियतवस नराखेको हुनसक्ने प्रतिक्रिया दिएका छन् ।