
खोटाङ, २३ चैत । बाईक दुर्घटनामा गम्भीर घाइते भएका युवाको उपचारका लागि १२ लाखभन्दा बढी सहयोग संकलन गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे कालापानी घर भइ हाल मोरङ सुन्दरहरैंचा–१ बस्दै आएका विकास कार्कीको उपचारका लागि २१२ जनाबाट १२ लाख ३४ हजार ३६९ रुपैयाँ सहयोग जुटाइएको हो ।
हाल दोहा, कतारमा रहेका अभियान्ता दिलीप श्रेष्ठ र नेपालमै रहेका भूपिन अधिकारीको पहलमा घाइते कार्कीको उपचारका लागि सहयोग जुटाइएको हो ।
कार्की गत फागुन २९ गते गच्छाको पुलबाट बाईकसँगै खसेका थिए । उनको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेको कलेको फुटेको, दायाँ पाटो खुस्किएको, दायाँ मिर्गौला फेल भएको, कम्मरको हाड फुटेको अस्पतालले जनाएको छ ।
कार्कीको उपचारका लागि घरको आर्थिक अवस्थाले धान्ने अवस्था नभएपछि अभियान्ता श्रेष्ठ र अधिकारीले गत चैत ५ गतेदेखि ‘विकास कार्की बचाऔं’ अभियान सुरु गरेका थिए । कार्कीको उपचारका लागि सहयोग जुटाउन अभियान जारी छ । हालसम्म उठेको रकमले उपचार गर्न अपुग भएकाले थप सहयोगको लागि अपिल गरिएको अभियान्ता श्रेष्ठले बताए ।
घाइते विकासलाई सहयोग गर्नका लागि लुम्बिनी विकास बैंकमा खोलिएको उनकै खाता नम्बरमा सहयोग जम्मा गर्न सकिन्छ । क्यूआर गरेर पनि सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।
