
खोटाङ, ३ जेठ । ‘स्वर्गिक मार्ग संघ नेपाल’ले साकेलाको मौलिकता ध्वस्त पार्ने काम गरेको भन्दै किरात अन्तर्राष्ट्रिय साँस्कृतिक (किक) अभियानले ध्यानाकर्षण भएको जनाएको छ । स्वर्गिक मार्ग संघले प्रकृति पुजक राईको साकेला चाडमा पुजा गर्ने साँस्कृतिक परम्परा बिगारिरहेको भन्दै किरात अन्तर्राष्ट्रिय साँस्कृतिक अभियानले आपत्ती जनाएको हो ।
किक अभियान का संयोजक भद्रगोल किराती (मनोजकुमार राई)ले जेठ १ गते विज्ञाप्ती जारी गर्दै साकेलाको मौलिक संस्कृति, परम्परा र पूजा पद्धतिलाई नक्कल गर्दै विकृत गर्ने, भ्रम फैलाउने तथा सांस्कृतिक अतिक्रमण गर्ने जघन्य कार्य गरिरहेको उल्लेख गरेका छन् ।
स्वर्गिक मार्ग संघको अगुवा भक्तकुमार राई (सुप्रिम मास्टर गडएञ्जल) हुन् । गडएञ्जल र उनका समर्थले साकेला थानलाई तोडमोड गर्दै त्यस स्थानमा नक्कली रंगीन झिल्के पुतली थान निर्माण गरी पूजा गर्ने जस्ता कार्यहरूले साकेलाको मौलिकतालाई ध्वस्त पारिरहेको अभियानका संयोजक किरातीले बताए ।
किरात राईको मौलिक मुन्दुमलाई भजनको शैलीमा विकृत गरिएको, पुर्खाले सिर्जना गरेको साकेला, सिलि, साकेन्वा गीतहरूलाई भ्रामक ढंगले प्रयोग गरिएको, सुप्तुलुङ भत्काएर फ्याँकिएको विज्ञाप्तीमा भनिएको छ ।
अभियानले साकेलाको मौलिकतालाई बिकृत पार्नेलाई कानुनी सजाय दिलाउन, साँस्कृतिक अतिक्रमण विरुद्ध सचेतना फैलाउन, सम्पूर्ण राई समुदायलाई एक हुन तथा मुन्दुम र सुप्तुलुङको संरक्षणमा एकतावद्ध हुन आव्हान गरेको छ । विज्ञाप्तीमा गडएञ्जललाई क्यानाडाको नागरिकता लिएका व्यक्ती र जिल्ला अदालत काठमाडौंबाट बोलाइएका भगौडाको रुपमा उल्लेख गरिएको छ ।
