इलाका प्रशासनबाट पुःन नागरिकता वितरण रोकियो

खोटाङ, ८ जेठ । सरकारले शाखा अधिकृत पठाउन नसक्दा खोटाङको इलाका प्रशासन कार्यालय खोटाङबजारको नागरिकता वितरण लगायतका सेवा रोकिएको छ । गृह–मन्त्रालयले शाखा अधिकृत वा कायम मुकायम शाखा अधिकृतको व्यवस्था गर्न नसक्दा जेठ ६ गतेदेखि ईलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित जनजाती प्रमाणिकरण एवं सिफारिस गर्ने, नावालक परिचय–पत्र प्रदान लगायतका सेवा रोकिएको हो ।

गृह–मन्त्रालयले ईलाका प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई ६ महिनाका लागि दिएको कायम मुकायम अवधि सकिएपछि इलाका प्रशासन कार्यालयको सेवा प्रभावित भएको हो । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको ईलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा परेका छन् ।