दिक्तेल बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम

खोटाङ, ९ जेठ । खोटाङको दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा प्राथमिक उपचार तालिम सञ्चालन गरिएको छ । बोर्डिङ स्कुलले शिक्षक र शिक्षिकालाई सहभागी गराएर जेठ ९ गते प्राथमिक उपचार तालिम सञ्चालन गरेको हो । प्रशिक्षणमा सहभागी शिक्षक शिक्षिकालाई आकस्मिक चोटपटक, रक्तश्राव, बेहोस अवस्था, मर्किएको, जलन जस्ता दुर्घटनामा परेका घाइतेलाई गर्नुपर्ने प्राथमिक उपचार सम्वन्धी ज्ञान तथा सीप प्रदान गरिएको छ ।

तालिममा सहभागीलाई प्रमुख प्रशिक्षकको रूपमा स्वास्थ्य सहायक सन्तोष बजिमयले प्रयोगात्मक विधिबाट प्राथमिक उपचार सम्वन्धी आधारभुत ज्ञान तथा सीप सिकाएका छन् । सामान्य दुर्घटनामा परेका व्यक्तीको उपचार गर्ने/गराउने योग्य जनशक्ती उत्पादनका लागि प्राथमिक उपचार तालिम सञ्चालन गरिएको दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताए ।

कार्यक्रममा विद्यालयकै स्वास्थ्य सहायक अप्सरा खड्काले सहजीकरण गरेकी थिईन् । प्रिन्सिपल श्रेष्ठले विद्यालयमा सात वटा प्राथमिक उपचार बाकस स्थापना गर्ने जानकारी दिए । यस्तै, आइएसओ प्रतिनिधि लालप्रसाद घिमिरेले विद्यालय जस्तो संवेदनशील क्षेत्रमा आकस्मिक अवस्थामा तुरुन्त उपचार उपलब्ध हुने व्यवस्था आवश्यक रहेको धारणा राखेका छन् ।