शिक्षक आन्दोलनको उपहास र आम निराशा

अप्सरा पोखरेल
काठमाडौं, ११ जेठ । संसदिय उपसमितिले बिद्यालय शिक्षा बिधेयकको प्रतिबेदन जो तयार पारेको छ, त्यसप्रति शिक्षकहरुले असन्तुष्टी पोखिरहेका छन् । २०८१ चैत्र बैशाखमा नेपाल शिक्षक महासंघको नेतृत्वमा २९ दिने लामो राजधानी केन्द्रित आन्दोलन भयो । लाखौं शिक्षक गाँस काटेर न्यून खर्चमा सडक आन्दोलनमा समाहित भए, यसको बिसर्जन सम्बोधनपूर्ण देखियो तर आन्दोलनपछि शिक्षकहरु जुन आशा उत्साह बोकेर फर्किएका थिए ।

संसदिय उपसमितिको सो प्रतिबेदनले आशालाई निराशामा बद्ल्यो । सरकारले अहिलेका शिक्षकहरुका मागलाई सुबिधालाई मात्रै नजरान्दाज गरेको देखियो । बास्तबमा यो शिक्षा सुधारको ऐतिहासिक लडाइँ थियो । आर्थिक, सामाजिक……तथा मनोबैज्ञानिक उन्नति र सुदृढीकरणको मुख्य आधारशिला शिक्षा हो, यो कुरालाई कसैले पनि नकार्न मिल्दैन तर त्यो कसरी पुस्तान्तरणमा हस्तान्तरण हुँदैछ त्यस मुलुकको पद्धतिमा भर पर्ने देखिन्छ ।

सँस्कारयुक्त पुस्तान्तरणको आशाको दियो (पुञ्ज) हुन् शिक्षक/गुरुः

घुन प्रवृत्तिको बाहुल्यता नजिकैबाट नियालेकै छ, किनकी सेवासुबिधा तथा बढुवा समेत त्यस्ता ब्यक्तित्वको पहुँचमा छ, यस्ता कुरा बिधालयको सानो घेरा भित्रको प्राशासनिक सोचदेखि माथिल्लो निकायको ठाडो निगरानी पद्धतिमा पिल्सिएकाको अनुभूति ओझेलमा बसेर बकेका र बहकिएका शब्दहरुले छर्लङ्ग पार्दछ ।

शिक्षक अन्यायमा परेको छ भन्दैगर्दा यो पनि बिर्सिन मिल्दैन कि आलोचनाबाट पनि अछुतो छैन । केही आलोचना गर्न लायकका ब्यक्तित्वले सबैलाई एउटै बोरामा खदारेको पनि देखिन्छ । अर्थात शिक्षाकै थलोमा शिक्षण सम्प्रेषण कसरी हुदैछ, होइन सम्बन्धित ब्यक्तिको सम्बन्ध कस्तो छ भन्ने कुरा प्राथमिकतामा पर्‍यो भने शैक्षिक स्तर कस्तो होला ? यसलाई पुष्टि गर्न जो कसैलाई गार्‍हो नपर्ला ।

शिक्षा क्षेत्रलाई राम्रो बनाउने हो भने शिक्षण पेसालाई पहिलो प्राथमिकतामा राख्नु पर्छ । अहिलेसम्म शिक्षण पेसालाई योग्य तथा अब्बल जवानले र जनशक्तिले अन्तिम विकल्पका रुपमा लिएका छन् । अनाशक्त पेसाकारुपमा रोजेका छन् । यसो हुनाको मूल कारण नै मर्यादा, सेवा सुबिधा र सम्मानपूर्ण सम्बोधनको अभाव हो । हामीले हाम्रा बालबालिकाको कोमल दिमागमा नै दुःखदायी पेसा साथै यदाकदा दुई छाक जाउलो खान धौ–धौ पर्ने, कपडा फेरे तरकारी खान नपाउने, तरकारी खाए कपडा फेर्न नपाउने, एकजोर कपडाले लामो समय गुजारा गरिरहनु पर्ने, परिवारको लुगा फेर्न ठूला चाडवाड पर्खिनुपर्ने दुःखी पेशा, ब्यबसायको रुपमा चिनाएका छौँ । चिनिएको छ ।

यसो भन्दै गर्दा शिक्षण पेसालाई आलोचनात्मक दृष्टिकोणले हेर्न पर्ने पनि देखिन्छ । जीवनयापनलाई सहज बनाउन अतिरिक्त ब्यबसाय अबलम्बन गर्नुपर्ने र त्यसकालागि कि त झोला बोकेर हिजो आफ्नै अगाडि दरबार पसेका ब्यक्तिको चाकरी, कि त हलोजुवा बोकेर बिहान बेलुकी खेतबारी धाउनुपर्ने हुन्छ । यसरी कि त खेतबारी कि त दरबार धाएर थकित शिक्षकले कक्षा कोठामा पसेर तमाम बालबालिकालाई के बोध गराउन सक्ला ?

अर्काे पाटो देखिन्छ संस्थागत बिद्यालयसँगको तुलनात्मक अबस्था ‘संस्थागत रूपमा संचालित बिद्यालयको नतिजा व्यावसायिक रुपमा नाफाको हिसाबले संचालित, घोकन्ते र सिट प्लानको जस्तो आदि आन्तरिक कुरामा नकारात्मक टिक्काटिप्पणी अनि साच्चै भबिष्य निर्माणको क्रममा सामुदायिक बिद्यालयमा उत्पादित जनशक्ति आबद्ध छन’ भन्ने कुराको चर्चा परिचर्चा चलेता पनि सामुदायिक बिद्यालयको तुलनामा नतिजा राम्रो छ । यसका पछाडि आफ्नो बालबच्चाको शिक्षाप्रती समय र चासो दिने अभिभावक कुन बिद्यालयमा बढी आवद्ध छन् भन्ने कुरा पनि सोच्न आबस्यक देखिन्छ ।

सामुदायिक बिद्यालयमा बिगतका अनुभूती हेर्दा उहीँ शिक्षक एक्लैले बिद्यार्थीको रिजल्टको जिम्मा लिनुपर्ने जस्तो थियो । अहिले त्यसमा परिवर्तन भएर अभिभावक तथा सरोकारवालाको गहिरो ध्यान सामुदायिक शिक्षामा बढ्दै गएको देखिन्छ तसर्थ शिक्षाको उदय, पठन–पाठनको प्रभावकारीता र उन्नति, प्रगती देख्न राष्ट्रका समग्र पक्षको उतिकै ध्यानाकर्षण हुन अत्यावश्यक देखिन्छ । (लेखकः शिक्षण पेशामा कार्यरत हुनुहुन्छ ।)