कांग्रेसको साथीहरुबाट म चैं त्यो खोज्छुः डा. शेखर कोईराला

खोटाङ, १७ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोईरालाले दलका नेतृत्वले नै ‘राजा आइहालेजस्तो’ आभास दिएको बताएका छन् । खोटाङको हलेसीमा जेठ १७ गते आयोजित पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता डा. कोईरालाले कांग्रेस, एमाले र माओवादीले नै ‘राजा आइहालेजस्तो’ आभास दिएको बताएका हुन् । ‘हिन्दुराष्ट्र र राजतन्त्रको यो लडाई बेकार लाग्छ । राजा आइहाल्यो कि जस्तो आभास कल्ले–कल्ले दिइराख्याछ भने हाम्रै नेतृत्वहरुले दिइरहनुभएको छ । नेपाली कंग्रेस, एमाले, माओवादीहरुबाटै आइरहेको छ,’ डा. कोईरालाले भने, ‘किनभने उहाँहरुले सुशासन दिनसक्नु भएको छैन । भ्रष्टाचार बढिरहेको छ । सेवा राम्ररी दिन सकेको छैन । रोजगारीको अवसर सिर्जना गर्न सकेको छैन ।’

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने तुवाचुङ जायजुममा किराती पुर्खा तयामा, खियामा र रैछाकुलेको पाउमा पितृ पुजा एवं साकेला सिली प्रदर्शन कार्यक्रम उद्घाटनकालागि डा. कोईराला खोटाङ आइपुगेका हुन् । पत्रकार भेटघाट कार्यक्रममा डा. कोईरालाले कांग्रेस र एमालेको सरकार बन्नुअघि भएको ७ बुँदे सम्झौता कार्यान्वयन हुन नसक्दा जनतामा निरासा छाइरहेको उल्लेख गरे । ‘कंग्रेस र एमाले मिलेर ७ बुँदे सम्झौता गरेका छौँ । त्यसलाई कार्यान्वयन गर्नेतिर अगाडि बढौं । त्यो कार्यान्वयन गर्न सक्यौं भने ठीक ठाउँमा पुगिहाल्छौँ नी,’ कोईरालाले भने, ‘आर्थिक जरजरता ठीक पारौं, सुशासन र भ्रष्टाचारलाई कन्ट्रोल गरौं । दण्डहिनतालाई कन्ट्रोल गरौं, सुशासन दिऔं, यो कुरा गर्नलाई कल्ले रोकेको छ, त्यो नभएर जनता निरास छन्, युवा निरास छन् ।’

डा. कोईरालाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका छन् । राजनीतिमा नैतिकता नरहे अराजकता बढ्ने र राजनितीलाई कमजोर बनाउने कोईरालाको धारणा थियो । ‘राजनीतिमा नैतिकता भन्ने प्रश्न अत्यन्त महत्वपूर्ण कुरा हो । राजनितीमा नैतिकता रहेन भने अराजतकता बढ्छ, राजनितीलाई कमजोर बनाउँछ । हामीमा नैतिकताको संस्कार हुनुप¥यो भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘भारतमा लालबहादुर शास्त्री रेलवे मिनिस्टर हुनुहुन्थ्यो । रेल एक्सिडेन्ट भो । लालबहादुर शास्त्रीले ट्रेन चलाको त होईन, उहाँले नैतिकताको आधारमा राजीनामा दिनुभयो । प्रत्येक नेपाली कांग्रेसको साथीहरुबाट मचैं त्यो खोज्छु । क्लिन भएर निस्के भैगो नि ।’

डा. कोईरालाले आफु हिन्दुराष्ट्रको पक्षमा नभएको स्पष्ट पारेका छन् । उनले आफ्नो लागि सबै धर्म बराबर भएको बताए । ‘हिन्दुधर्मको उ लिएर हिँडेको पनि छैन । तपाईहरुलाई गलत इम्प्रेसन छ । सबै धर्म मेरो लागि बराबर हो,’ कोईरालाले भने, ‘हामीले सबै धर्मको सम्मान गर्न सक्नुपर्छ । इज्जत गर्न सक्नुपर्छ । धर्मको सम्मान, इज्जत र संस्कृतिलाई बचाउन सकेनौं भने हामी सभ्य समाजको नागरिक हुन सक्दैनौं ।’ (भिडियो समाचार Views Of Nepal को फेसबुक पेजमा उपलव्ध छ ।)