‘माईतीघर’को टाईटल गीतमा उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा

इटहरी, १८ जेठ । एक समयको सुपरहिट गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर’ अहिले पनि उत्तिकै हिट छ । सबैको मनमा बस्न सफल छ यो गीत । हाल छायांकन भइरहेको फिल्म ‘माईतीघर’मा यही गीतलाई समावेस गरिँदैछ । ‘माईतीघर’मा समावेश गरिएको सो गीतको भिडियो जेठ १८ गतेदेखि छायांकन सुरु गरिएको छ । छायांकन सेटबाट केही तस्विर समेत सार्वजनीक गरिएको छ जहाँ उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा देखिन्छिन् ।

परम्परागत भेषभूषामा सजिएकी दुई अभिनेत्री कोरस डान्सरका साथ गीतको भिडियोमा नाच्नेछन् । निर्माता रोहित अधिकारीका अनुसार गीतको ‘मर्म र भाव जीवन्त रहोस्’ भनेर सुप्रसिद्ध भारतीय गायिका संजीवनीको स्वरमा यो गीतलाई पुनः ‘माईतीघर’ फिल्मका लागि रेकर्ड गराईएको थियो । भिडियोमा पनि ‘कहीँकतै कमजोरी नहोस्’ भन्नका लागि गीत छायांकनको लागि मात्रै चार दिनको सेड्युल तय गरिएको निर्माता अधिकारीले बताए ।

फिल्मका प्रमुख दुई अभिनेत्री ठकुरी र शेर्पा यो गीतमा फिचर्ड हुनेछन् । हिन्दूहरूको पवित्रस्थल बाग्लुङको कालिका मन्दिरमा छायांकन सुरु भएको गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गरिरहेका छन् । सो गीतमा किरण खरेलको शब्द तथा जयदेभको संगीत समावेश गरिएको छ ।

गीत समावेश फिल्म माइतीघरमा धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ सँगै प्रकाश सपुत, अभिनेत्री ठकुरी, शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ ।

मिलन तामाङले निर्देशन गरिरहेको यस फिल्मको छायांकन सुसन प्रजापतिले गर्दैछन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माताका रूपमा छन् ।