
खोटाङ, २० जेठ । संघीय सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि खोटाङका १० स्थानीय तहलाई ३ अर्व ८१ करोड ६० लाख अनुदान हस्तान्तरण गर्नेभएको छ । अर्थ मन्त्रालयबाट जेठ १९ गते सार्वजनिक अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरणअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकालाई चालुतर्फ ३ अर्व ४६ करोड ६९ लाख र पुँजीगतमा ३४ करोड ९१ लाख हस्तान्तरण गर्ने भएको हो ।
आर्थिक वर्ष २०८२/०८३ का लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संघीय सरकारबाट कुल ६९ करोड २० लाख पाउने छन् । दिक्तेल रुपाकोट मझुवागढीले चालुतर्फ ६६ करोड २३ लाख र पुँजीगततर्फ २ करोड ९७ लाख पाउने अर्थमन्त्रालयले जनाएको छ ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकालाई कुल ४७ करोड ३६ लाख वित्तीय अनुदान हस्तान्तरण हुनेछ । सो नगरपालिकाले चालुतर्फ ४४ करोड ९६ लाख र पुँजीगतमा २ करोड ४० लाख प्राप्त गर्नेछन् ।
ऐसेलुखर्क गाउँपालिकालाई चालुतर्फ ३५ करोड ६२ लाख र पुँजीगततर्फ २ करोड २८ लाख गरि कुल ३७ करोड ९० लाख, केपिलासगढी गाउँपालिकालाई चालुतर्फ २९ करोड ३२ लाख र पुँजीगतमा ६ करोड ६१ लाख गरि कुल ३५ करोड ९३ लाख वित्तीय अनुदान हस्तान्तरण हुने मन्त्रालयले जनाएको छ ।
यस्तै, खोटेहाङ गाउँपालिकाले चालुतर्फ ३७ करोड ७८ लाख र पुँजीगतमा ४ करोड २० लाख गरि जम्मा ४१ करोड ९८ लाख, जन्तेढुंगा गाउँपालिकाले चालुमा २६ करोड ९४ लाख र पुँजीगतमा ४ करोड ३५ लाख गरि ३१ करोड २९ लाख पाउनेछन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले चालुमा ३४ करोड ९३ लाख र पुँजीगतमा ३ करोड ७ लाख गरि ३८ करोड, रावाबेँसी गाउँपालिकाले चालुमा २५ करोड ४९ लाख र पुँजीगतमा २ करोड ४९ लाख गरि २७ करोड ९८ लाख, बराहपोखरी गाउँपालिकाले चालुमा २२ करोड ९५ लाख र पुँजीगतमा २ करोड ९४ लाख गरि २५ करोड ८९ लाख तथा साकेला गाउँपालिकाले चालुतर्फ २२ करोड ४७ लाख र पुँजीगतमा ३ करोड ६० लाख गरि जम्मा २६ करोड ७ लाख प्राप्त गर्ने अर्थमन्त्रालयले जनाएको छ । (भिडियो समाचार Views Of Nepal को फेसबुक पेजमा उपलव्ध छ ।)
