
काठमाडौं, २३ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी सहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित कृष्ण उच्च माविको भवन निर्माणका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले जिशिअ नेपालसहित जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सब इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र लेखापाल सुरेशकुमार श्रेष्ठ विरुद्ध जेठ २३ गते मुद्दा दायर गरेको हो ।
यस्तै, कृष्ण उच्च माविका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई र हरिनारायण राई तथा विद्यालयको भवन निर्माण गर्ने जयप्रसाद राईलाई विपक्षी बनाएर आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले विज्ञाप्तीमार्फत जानकारी दिएका छन् । उनीहरूविरुद्ध २५ लाख ५० हजार बिगो र सजायको माग गरिएको छ ।
कृष्ण उच्च माविको चार कोठे आरसिसि भवन निर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयले २४ लाख अनुदान दिएको थियो । २१ लाख १० हजार ८९२ जनहभागीता सहित कुल ४५ लाख १० हजार ८९२ मा निर्माण गर्नुपर्ने भवन गुनस्तरहीन हुँदाहुँदै झुट्टा बिल भरपाईका आधारमा रकम निकासा गरेर गैरकानुनी हानि पुर्याउने बदनियतले कार्य गरेको अख्तियारले दावी गरेको छ ।
