
खोटाङ, २३ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मौरी पालन सम्वन्धी ७ दिने तालिम सञ्चालन गरिएको छ । अपाङ्गता भएका व्यक्तिको जिविकोपार्जन सुधारको लागि अपांगता रोकथाम तथा पुःनस्र्थापना कार्यक्रम अन्तरगत महिला तथा बालबालिका शाखाको संयोजनमा मौरी पालन सम्वन्धी तालिम सञ्चालन गरिएको हो । सामाजिक विकास समितिको निर्णय अनुसार गत जेठ १७ गतेदेखि जेठ २३ गतेसम्म तालिम सञ्चालन गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले बताईन् ।
मौरी पालन तालिममा सहभागी अपांगता भएका २५ जना तथा उनीहरुका परिवारलाई गोलासहितको मौरीको घार वितरण गरिएको छ । दुधकोशी टेक्निकल ट्रेनिङ एण्ड कन्सल्टेन्सी प्रालिको प्राविधिक सहयोगमा मौरी पालन सम्वन्धी तालिम सञ्चालन गरिएको हो । तालिम शुभम फाउण्डेसनको सभाहलमा सञ्चालन गरिएको थियो ।
तालिममा सहभागीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले प्रमाण–पत्र प्रदान गरेका थिए ।
