टिकटकमा भ्रामक सामग्री राखेको भन्दै युवती पक्राउ

खोटाङ, १ असार । टिकटकमा तथ्यहीन र भ्रामक सामग्री राखेको भन्दै प्रहरीले युवतीलाई पक्राउ गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार घर ठेगाना भई हाल भक्तपुर बसिरहेकी ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको हो ।

नियोजितरूपमा जातिय एवं साम्प्रदायिक भावनामा खलल पुर्‍याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्थाको विरुद्ध भ्रामक विषयवस्तु प्रसारण गरी चरित्र हत्या गरेको अभियोगमा बस्नेत पक्राउ परेकी हुन् । बस्नेतलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी साइबर ब्यूरोबाट खटिएको टोलीले असार १ गते भक्तपुरबाट पक्राउ गरेको हो ।

व्यक्ति, संस्था र सम्प्रदायप्रति नकरात्मक धारणा फैलाउँदै चरित्र हत्या गर्ने व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा सो कार्यमा बस्नेतको संलग्नता खुलेको प्रहरीले जनाएको छ । जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिएर बस्नेतको विषयमा अनुसन्धान भइरहेको प्रहरीको विज्ञाप्तीमा उल्लेख छ ।