
खोटाङ, ३ असार । खोटाङको दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा युवा रेडक्रस सर्कल (युरेस) गठन गरिएको छ । मानवीय सेवा र सामाजिक कार्यमा विद्यार्थीहरूको सहभागिता बढाउने उद्देश्यले रितेश्ना कार्कीको अध्यक्षतामा ११ सदस्यीय युरेस गठन गरिएको हो ।
युरेसको उपाध्यक्षमा अनुराग कट्टेल, सचिवमा सलिना सुवेदी, सह–सचिवमा रेमन खत्री, कोषाध्यक्षमा अनिस राई र सह–कोषाध्यक्षमा सुजुका विष्ट चयन भएका छन् । सदस्यहरुमा जोयल चौधरी, सर्गम राई, निराजन सिं, रचना तामाङ र स्मारिका राईलाई छानिएको छ ।
युरेसको संरक्षकमा शिक्षक लालप्रसाद घिमिरे, संयोजकमा हर्कबीर राई र सदस्यमा पदमबहादुर विष्ट चयन भएका छन् । यस्तै, शिक्षक नायकमा सतिना डंगोल र सह–शिक्षक नायकमा श्यामलाल चौधरीलाई चयन गरिएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा प्रिन्सिपल धनकर्ण श्रेष्ठले युरेसको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । ‘युवा रेडक्रस सर्कल केवल एउटा क्लब मात्र होइन, यो एउटा अवसर हो । तपाईंहरूले प्राथमिक उपचार, विपद् जोखिम न्यूनीकरण, सरसफाइ अभियान, रक्तदान कार्यक्रमजस्ता विभिन्न क्रियाकलापहरूमा सक्रिय सहभागी भई आफ्नो विद्यालय, समुदाय र समग्र देशको सेवा गर्न सक्नु हुनेछ,’ प्रिन्सिपल श्रेष्ठले भने, ‘मलाई विश्वास छ, नवनिर्वाचित पदाधिकारीहरू र सदस्यहरूले रेडक्रसका सात मूलभूत सिद्धान्तहरू (मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वैच्छिक सेवा, एकता र विश्व व्यापकता)लाई आत्मसात गर्दै यस सर्कललाई नयाँ उचाइमा पुर्याउनु हुनेछ ।’
युरेसको गठनले विद्यार्थीहरूमा समाज सेवाको भावना जागृत गराउनुका साथै विपद व्यवस्थापन, प्राथमिक उपचार र जनचेतनामूलक कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
