टोकियोमा गुन्जियो श्रेष्ठ र शाहको गजल

जापान, ४ असार । जापानमा पलेंटी गजल सन्ध्या तथा पुस्तक लोकार्पण कार्यक्रम गरिएको छ । विश्व नेपाली साहित्य महासँघ (विनेसाम) जापान शाखाको आयोजनामा टोकियोमा पलेंटी गजल सन्ध्या तथा पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा श्रृष्टाद्धय प्रमोद श्रेष्ठ ‘स्नेही’ र दिया शाहले गजल वाचन गरेका थिए । श्रेष्ठ र शाहले गजल वाचन गरेर कार्यक्रम स्थल घण्टौं गुन्जाएका थिए ।

यस्तै, क्रान्ति चेम्जोङ, अमरदेव वास्तोला, गृष्मा पौड्याल, शारदा पाण्डे, अविरल पाण्डे, समर प्रेम, राजन घले, लक्ष्मी अर्गेजा मगर, प्रविण लामा, भुवन रोका, म्यामराज राई, सम्झना चाम्लिङ्ग लगायतले खुल्ला रचना वाचन गरेर सुनाएका थिए ।

लेखक, विश्लेषक तथा समाजवादी दर्शनका अध्येता विश्वभक्त दुलाल ‘आहुति’को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुई वटा कविता संग्रह लोकार्पण गरिएको छ । शकुन आँसुको ‘नवयुगकी सुम्निमा’ र भीम बिरही राईको ‘बारुदले कोरेका अक्षरहरू’ लोकार्पण गरिएको हो ।

कार्यक्रममा अनेसास वोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्यालले आफ्नो मुक्तक संग्रह ‘संघर्ष १०१’ परिचय गराउदै केही मुक्तकहरू पनि सुनाएकी थिईन् । यस्तै, कवि रोशन याक्सोको कविता संग्रह ‘सम्झनाको चोमोलोङमा’को बिशेष प्रदर्शन गरिएको छ ।

विनेसाम जापानका सल्लाहकार भुवन रोकाले संस्थाको विगतदेखि वर्तमानसम्मको संक्षिप्त इतिहास वारे चर्चा गरेका थिए । विनेसाम जापानका संरक्षक देवीबहादुर ईङ्नामले सबैको प्रयास र मिहिनेतले छैटौँ स्थापना दिवस मनाउन सफल भएको बताए ।

विनेसाम जापान शाखाकी सह–सचिव सयपत्री थुलुङ र उपाध्यक्ष शिवराज राईले सञ्चालन गरेको कार्यक्रममा सदस्य कुविर लामा स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम रविन्द्र दिखुक्पाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली भाषाका ज्ञाता तथा साहित्यकार हारूहितो नोजु, अनेसास जापानका अध्यक्ष अरूण पौडेल, साहित्य चौतारी नेपाल जापान शाखाका अध्यक्ष सरिता ढकाल, याक्थुङ चुम्लुङका अध्यक्ष मनकुमार तुम्सा, नेपाल मगर सँघ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगर, अधिवक्ता डा. बलराम श्रेष्ठ, एनआरएन कान्तो जापानका अध्यक्ष सागर कार्की, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानका उपाध्यक्ष विनोद स्याङ्तान, किरात नेपाल तामाङ समाज जापानका महासचिव जनक थोकर, पूर्वी विकास नेपाल सहकार्य केन्द्रका उपाध्यक्ष पेम नुरी शेर्पा, ग्लोबल फोरम जापानका संरक्षक धनबहादुर बिक, किराया कान्तोका अध्यक्ष ध्रुवदेव राई, अनेसास वोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार पौड्याल, विनेसाम जापानका संरक्षक ईङ्नाम, विनेसाम जापानका सल्लाहकार रोका, साहित्य चौतारी नेपाल जापानका संरक्षक अमरदेव बास्तोला, जापान समाचार डटकमका प्रधान सम्पादक गोकर्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो ।