सुनकोसीमा बाढी आउने सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

खोटाङ, ६ असार । सुनकोसीमा बाढी आउन सक्ते सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सतर्कता अपनाउन अनुरोध गरेको छ । असार ७ गतेसम्म चिनको तिव्वत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आउने सम्भावना भएकाले प्रशासनले सुनकोसी आसपासमा सतर्कता अपनाउन अनुरोध गरेको हो ।

चिनको प्रहरी कार्यालयबाट प्राप्त सूचना अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कताको सूचना जारी गरेपछि खोटाङले पनि असार ६ गते सार्वजनिक सूचना जारी गरेको हो । सुनकोसीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकालाई छुन्छ ।