
खोटाङ, १० असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नयाँ ट्र्याक खोल्ने कार्यलाई निरुत्साहित गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।
असार ९ गते सम्पन्न १३ औं नगरसभाले नयाँ ट्र्याक खोल्नुको सट्टा यसअघि बनिसकेका सडकलाई स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम पास गरेको छ । जताततै सडकको ट्र्याक खोल्ने होड चलिरहेकोबेला मेयर तीर्थराज भट्टराईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय सडक, वडाको केन्द्र र स्वास्थ्यचौकी जोड्ने सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नती गर्ने उल्लेख छ ।
नगरपालिकाले बाँदरको क्षति न्यूनीकरणका लागि वैकल्पिक बालीको रुपमा तोरी, प्याज र सुन्तला जातको फलफूल खेतिलाई प्रवद्र्धन गर्ने, प्याज, तोरी र मह बालीमा किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । यस्तै, कफी खेती विस्तार तथा कफी वेर्ना उत्पादन कार्यक्रम संचालन गर्ने भनिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १ अर्व २ करोड ९२ लाख ३४ हजार ३१९ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । सभामा उपमेयर बिसन राईले नयाँ आर्थिक वर्षका लागि संघीय सशर्त अन्तरगत चालुतर्फ ४९ करोड ९७ लाख र पुँजीगततर्फ १ करोड ९७ लाख विनियोजन गरेको जानकारी दिए ।
