
खोटाङ, ११ असार । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अनुमानित ४९ करोड ७० लाख ९३ हजार ८८ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । असार १० गते सम्पन्न गाउँसभामार्फत गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि चालुतर्फ ३२ करोड ७८ लाख ८८ हजार ८८ र पुँजीगतमा १६ करोड ९२ लाख ५ हजार बजेट ल्याएको हो ।
गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष राजेश राजभण्डारीले विभिन्न विषयगत शाखाका कार्यक्रमका साथै अन्य विविध कार्यक्रम तथा योजना निर्माणका लागि प्राप्त संघीय सशर्त अनुदानबाट व्यहोर्नेगरि चालु कार्यक्रमतर्फ २३ करोड २४ लाख र पुँजिगतमा ८८ लाख विनियोजन गरिएको जानकारी दिए ।
यस्तै, प्रदेश सरकार सशर्त अनुदानबाट व्यहोर्नेगरि चालुतर्फ ४७ लाख ९४ हजार र पुँजीगतमा १५ लाख, संघीय सरकारबाट प्राप्त समपुरक अनुदानसँग गाउँपालिकाले ३० प्रतिशत रकम साझेदारी हुनेगरि ऐसेलुखर्क–लिदिङ खोला सडक स्तरोन्नतीका लागि ६० लाख, वडागत पुँजीगत योजनाका लागि १ करोड ९ लाख विनियोजन गरिएको छ । संघीय सरकार विशेष अनुदानबाट ऐसेलुखर्क गाउँपालिकाको शैक्षिक विकास (डिजिटलाइज स्कुल) र साक्षरता सुधार परियोजनाको लागि २ करोड ५० लाख, विशेष अनुदानबाट ऐसेलुखर्कको आधारभुत अस्पतालको उपकरण खरिदका लागि १ करोड ६५ लाख विनियोजन गरिएको प्रस्तुत बजेट तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, सबै वडा कार्यालयको प्रशासनिक खर्चका लागि ७० लाख, पदाधिकारीको सेवासुविधा, कर्मचारी तलव भत्ता लगायत कार्यालयको प्रशासनिक खर्च र चालु प्रकृतिको खर्चका लागि संघीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर बाँडफाँड र आन्तरिक राजस्वबाट खर्च व्यहोर्ने गरि ८ करोड २१ लाख ४४ हजार ८८, वडा कार्यालय बाहेकतर्फ पुँजीगत कार्यक्रम अन्तरगत ९ करोड ६ लाख लगायतका बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नयाँ आर्थिक वर्ष शिक्षा र कृषिमा लगानी गर्ने इच्छा भए पनि स्वास्थ्यको भौतिक पुर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने अवस्था बनेको गाउँपालिका अध्यक्ष राईले बताए ।
