श्रमदानबाट सडक मर्मत गर्दै गाउँपालिका अध्यक्ष राई

खोटाङ, १६ असार । खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रबिप्रकाश राई वर्षाका कारण बिग्रेको सडक मर्मतमा जुटेका छन् । गाउँपालिका अध्यक्ष राई वर्षाका कारण बिग्रेको साप्सुखोला–मात्तिम–मानेभन्ज्याङ–पाँचधारे सडक, बाँझेच्यानडाँडा–रतन्छा–मानेभन्ज्याङ सडक, कात्तिके–सोस्तुङ–रतन्छा लगायतका सडक मर्मतमा जुटेका हुन् । वर्षाको भलपानीको कटानका कारण ठाउँ–ठाउँमा खाल्डाखुल्डी हुँदा, पहिरो जाँदा र हिलाम्मे हुँदा यात्रुलाई आवतजावत गर्न कठिन भएपछि गाउँपालिका अध्यक्ष राई श्रमदानमार्फत सडक मर्मतमा जुटेका हुन् ।

गाउँपालिका अध्यक्ष राई गत असार १३ गतेदेखि कर्मचारी सहित मेसिन र ट्याक्टर लिएर बिहानदेखि बेलुकासम्म सडक मर्मतमा खटिइरहेका छन् । वर्षाका कारण बिग्रिएका अन्य सडकलाई पनि क्रमशः मर्मत गर्दै सुचारु गराइने गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाभित्र हुने विकासका कार्यहरु, पालिकाले सञ्चालन गरेको पूर्ण सरसफाई तथा नागरिकसँग जोडिएका हरेक क्रियाकलापहरुमा अध्यक्ष राई नेतृत्वदायी भूमिका निर्वाह गरेर जनश्रमदानमा जोडिने गरेका छन् ।
गत वर्ष पनि वर्षा सुरु हुनासाथ अध्यक्ष राईकै नेतृत्वमा सडक मर्मत गरि सवारी साधन आवागमनलाई सहज बनाइएको थियो ।

गत वर्ष नै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रवेश गरेर साप्सु खोलाबाट लफ्याङतर्फको सडक मर्मत गरिएको थियो । त्यसो त गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेत आकस्मिक पूर्वाधार निर्माण कार्यक्रमलाई पनि अघि सारेको छ । प्राकृतिक प्रकोप तथा विपत्तिका कारण आवागमनमा भएका समस्यालाई तत्काल समाधान गरि नागरिकलाई सेवा पु¥याउने उद्देश्यले उक्त नीति अघि सारेको अध्यक्ष राईले बताए ।

यसैबीच, गाउँपालिका अध्यक्ष राईकै नेतृत्वमा साकेला गाउँपालिकाको–५ मात्तिमस्थित सरस्वती माविको मैदान सम्याउने, वरपर सरसफाई गर्ने लगायतका कार्य गरिएको प्रधानाध्यापक सितल राईले बताईन् ।