
काठमाडौं, २८ असार । खोटाङका साहित्यकार एवं पत्रकार श्रीराम राईलाई ‘गोधूलि साहित्य सम्मान–२०८२’ प्रदान गरिएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वद्र्घन र संरक्षण पुर्याएको योगदानको कदर गर्दै गोधूलि साहित्य प्रतिष्ठान, काठमाडौंले साहित्यकार एवं पत्रकार राईलाई ‘गोधूलि साहित्य सम्मान’ प्रदान गरेको हो । २१२ औं भानुजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान (लेखनाथ प्रवचन कक्ष)मा असार २८ गते आयोजित कार्यक्रममा प्रतिष्ठानले साहित्वकार एवं पत्रकार राईलाई सम्मान गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा सिर्जनाकुञ्ज निवासी राईले यसअघि इडन व्रिज एकेडेमी बाल पत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघ, स्वर्ण महोत्सव (२०८०) लगयातका सम्मान तथा पुरस्कार पाइसकेका छन् ।
१० वर्षे शिक्षण पेशाको अनुभव सँगालेर काठमाडौं छिरेका राईले बालकथा, लघुकथा, हाइकु, मुक्तक, गीत, गजल र कवितामा कलम चलाउँदैआएका छन् । उनको ‘टोली नेता’ (बालकथा संग्रह, २०७४), ‘आजका लघुकथा’ संयुक्त लघुकथा संग्रह (२०७४), ‘पोलेको मकै’ (बालकथा संग्रह, २०७८) लगायतका कृति प्रकाशित छन् । रावासावा प्राज्ञिक समाज नेपालका सचिव राई लघुकथा समाज नेपाल शाखा खोटाङको पहिलो अध्यक्ष पनि हुन् ।
गोधूलि साहित्य प्रतिष्ठानले वरिष्ठ कवि तुलसी दिवसलाई ‘गोधूलि भानु शिखर अभिनन्दन’ गरेको छ । यस्तै, राधेश्याम लेकाली, गंगा पौडेल कर्माचार्य, रेणुका भट्टराई, भीष्मराज ढुंगेल, विक्रमभक्त जोशी, रेणु अधिकारी ‘मौनता’, दीपसागर थापा मगर, गीता अर्याल, लोकगायक प्रेम खड्का र एन्जल्स वल्र्ड इन्टरनेशनल एकेडेमीलाई पनि गोधूलि साहित्य सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा साहित्यकार गोपीकृष्ण प्रसाईले आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताए । त्यस्तै वरिष्ठ कवि प्रल्हाद पोखरेलले आदिकविको आचार्यको योगदान बारे बोलेका थिए ।
‘गोधूलि भानु काव्योत्सव’ अन्तर्गत विश्वविमोहन श्रेष्ठ, राधेश्याम लेकाली, राजु उपरकोटी, द्वारिका कुइँकेल, घनबहादुर थापा, आशीष ऐडी, रोमा लम्साल, भगवती बस्नेत, ओमकृष्ण प्रसाई, प्रकाश समिर र रश्मि रिमालले भानु समर्पित कविता, गजल तथा मुक्तक वाचन गरेका थिए । कार्यक्रम वरिष्ठ कवि संस्कृतिविद् दिवसको प्रमुख आतिथ्यता तथा पशुपति गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसैबीच, वरिष्ठ समाजसेवी संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले आफ्नो २५ औं बैबाहिक वर्षगाठको अवसरमा गोधूलि कला साहित्य प्रतिष्ठानलाई ५ लाख ५ हजार ५ सय प्रदान गरेकी छन् । गोधूलि भानुकाव्योत्सवकै अवसरमा गुरुङले सो रकम प्रदान गरेकी हुन् ।
