जन्तेढुंगा गाउँपालिकाले उत्पादन गर्‍यो ६ हजार केजी आलु

खोटाङ, २८ असार । खोटाङको जन्तेढुंगा गाउँपालिकाले करिब ६ हजार केजी आलु उत्पादन गरेको छ । आलु खेती प्रवद्र्धन अन्तरगत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा उपलव्ध गराएको सशर्त बजेटबाट गाउँपालिकाले अनुमानित ६ हजार केजी आलु फलाएको हो ।

जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा गत फागुनमा करिब ६१ रोपनी सार्वजनिक जग्गामा आलु खेती लगाइएको थियो । गत असार १२ गतेदेखि असार २७ गतेसम्म लगाएर आलु खनिएको गाउँपालिकाका सूचना अधिकारी प्रवेश निरौलाले बताए ।

उत्पादित आलुलाई गाउँपालिकाले चिसापानीबजारमा निर्माण गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेलीघरबाटै प्रतिकेजी ५५ रुपैयाँका दरले आलु बिक्री भइरहेको जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम खड्काले बताए । कृषि शाखाबाट कुपन लिएर कुपनको आधारमा आलु किन्ने व्यवस्था मिलाइएको छ । हालसम्म १ हजार १०६ केजी आलु बिक्री भइसकेको छ । आलु बिक्रीबाट आएको आम्दानीलाई गाउँपालिकाको आन्तरिक श्रोतमा जम्मा गर्ने उपाध्यक्ष खड्काको भनाई छ । गत असार १६ गते बसेको स्थानीय राजस्व परामर्श समितिको बैठकले आलुको मुल्य प्रतिकेजी ५५ रुपैयाँ निर्धारण गरेको थियो । गाउँपालिकाले असार १८ गतेदेखि सुपथ मुल्यामा आलु विक्री खुला गरेको हो ।

आलु खेती प्रवद्र्धन अन्तरगत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सशर्त १५ लाख बजेट उपलव्ध गराएको थियो । त्यसमध्ये ८ लाखमा ११ टन आलुको बिउ खरिद गरेर किसानलाई वितरण गरेपछि बाँकी रहेको ७ लाखमा आलु खेती लगाइएको हो । वर्षौँदेखि बाँझिएको सार्वजनिक जग्गा फोड्नका लागि गाउँपालिकाको दुई वटा मिनिटिलर प्रयोग गरिएको थियो । यस्तै, जमिन खन्न, आलु रोप्न र आलु निकाल्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई परिचालन गरिएको थियो । आलु खेतीमा तीन लाख बराबरको श्रमदान जुटाइएको गाउँपालिका अध्यक्ष अरुणादेबी राईले बताईन् ।

भन्ज्याङखर्कमा खुमल सेतो प्रजातीको ३ टन र स्थानीय जातको आलु रोपिएको थियो । आलुसँगै मकै खेती पनि लगाइएको छ । उत्पादित आलुलाई ग्रेडिङ गर्दै साना–साना दानालाई भने बिउको रुपमा राख्ने तयारी गरिएको छ । आलुको बीउलाई चिसापानीमै आगामी साउनदेखि सञ्चालनमा आउने चिस्यान केन्द्रमा भण्डार गर्ने गाउँपालिकाले जनाएको छ ।

भञ्ज्याङखर्कमा आगामी आर्थिक वर्ष पनि आलु खेती लगाउने गाउँपालिकाको योजना छ । आलु खेतीका लागि मल उत्पादन गर्न वडा कार्यालय डम्बर्खुशिवालयले भैंसी खरिदका लागि बजेट बिनियोजन गरेको छ ।