
काठमाडौं, २९ असार । गायक दिलिप तामाङको ‘क्या मिठो बोली मैच्याङ्ग’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । खोटाङको दिक्तेल स्थायी घर भई हाल बेलायत बस्दै आएका गायक तामाङको अफिसिलय युट्ब च्यानलमार्फत गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । स्टेजमा आफ्नो सांगीतिक प्रस्तुती दिँदैआएका तामाङ ‘क्या मिठो बोली मैच्याङ्ग’मार्फत औपचारिकरुपमा नेपाली संगीत जगतमा प्रवेश गरेका छन् ।
प्रवासबाट औपचारिकरुपमा संगीतमा ‘डेव्यु’ गरेका तामाङलार्ई गायिका लिला गोम्देनले साथ दिएकी छिन् । श्रुतीमा श्रेष्ठ तामाङको प्रस्तुति रहेको गीतमा डिल्लीराम राईको शब्द र आशुसेन लामाको संगीत रहेको छ । सेलो विटमा रहेको गीतले नेपाली संगीतको परम्परागत मिठासलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको गायक तामाङले बताए ।
‘क्या मिठो बोली मैच्याङ्ग’ को म्युजिक भिडियोमा मोडल डोना थापा र याङजी दोङलगायतले अभिनय गरेका छन् । भिडियोले गीतको भावनालाई दृश्यात्मक रूपमा प्रभावकारी तरिकाले प्रस्तुत गरेको छ । आधुनिक प्रविधिको संयोजनमा निर्माण गरिएको उक्त म्युजिक भिडियोमा नेपाली लोक संस्कृति र परम्परालाई प्रोत्साहित गरेको छ । सार्वजनिक गीतको म्युजिक भिडियोले प्राप्त गरेको स्रोता दर्शकहरूको प्रतिक्रियाबाट आफू उत्साहित भएको गायक तामाङले बताए ।
गायक तामाङ बुवा कालिबहादुर तामाङ, आमा विष्णुमायाँ तामाङ, श्रीमती श्रुतीमा र छोरी श्रुदिताको साथ बेलायत बस्दै आएका छन् । परिवारकै साथ र सहयोगमा आफ्नो संगीत यात्रा सुरु गरेको तामाङले बताएका छन् । गायक तामाङले आगामी दिनमा संगीतलाई निरन्तरता दिँदै नेपाली संगीत जगतमा नियमित रूपमा नयाँ गीतहरू ल्याउने योजना बनाएका छन् ।
उनले विदेशमा रहेर पनि नेपाली संस्कृति र संगीतको प्रवद्र्धनमा आफु निरन्तर लागि रहने प्रतिबद्धता जनाएका छन् ।
भिडियो-
