
काठमाडौं, ३ साउन । नयाँ हास्य शृंखला ‘गावैं रमाइलो’लाई पछिल्लो समय दर्शकले निकै रुचाएका छन् । सात हप्ता अघिको बिहिबारदेखि सुरु भएको सो सिरियल सातौं भागसम्म आउदा धेरै दर्शकले मन पराउन थालेका हुन् । हरेक बिहीबार साँझ आउने उक्त सिरियल हेर्नेको ग्राफ बढ्दै गइरहेको निर्देशक नेत्र राउतले बताए ।
सातौं भागमा ट्विस्ट आएपछि दर्शकहरुलाई आठौं भाग कस्तो होला भनेर प्रतिक्षा गर्न उत्साहित बनाएको छ । सातौं भागमा भर्खरै जेलबाट छुटेका सुवास घिसिङ ‘सुनपहेंले’सँग नवीना सिलवाल ‘खुइली’ बिहे गर्न राजी हुन्छिन् । तर, जब खुइलीको साथीको भूमिकामा पत्रकारको इन्ट्रि हुन्छ । त्यसपछि बिहेको लागि तयार भएको खुइलीलाई धोका दिन्छिन् । ‘सुनपहेंले’ खराब हुन् भन्दै खुइलीलाई भड्काउछन् । लास्टमा पत्रकारले नै ‘सुनपहेंले’सँग बिहे गर्छिन् । अनि तनावमा हुन्छिन् खुइली ।
यो सिरियल सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य गर्ने कमेडी ड्रामामा आधारित रहेको निर्देशक राउतको भनाई छ । ‘सातौं भागसम्म आउँदा दर्शकले अत्यधिक मन पराइदिनु भएको छ, हाम्रो मिहिनेत अझै जारी छ,’ निर्देशक राउतले भने, ‘हास्य–व्यंग्यलाई अझै परिस्कृत गरेर आगामी शृंखला ल्याउने तयारी छ ।’
हास्य चलचित्रले विभिन्न कारण तथा सामाजिक समस्याका कारण गाउँबाट टाढिएका युवा–पिढी तथा अन्य व्यक्तिहरूलाई गाउँ फर्किन प्रेरित गर्ने उद्देश्य राखेको छ । यो टेलीचलचित्रमा नेपालमा चर्चित हास्य कलाकारहरूको बाहुल्यता छ । यस सिरियलमा वरिष्ठ कलाकार देशभक्त खनाल, दमन रुपाखेती, लक्ष्मण विक्रम बस्नेत, सुरेश थापा, विनोद राई, नविना सिलवाल, नेत्रविक्रम खड्का, सुभाना राई र कृशला तामाङ लगायतको अभिनय देख्न सकिन्छ ।
शृंखलामा स्वर, शब्द तथा संगीत नवीन रावलको रहेको छ । यस्तै, मिक्सिङ किस्मत स्टुडियोले गरेको छ । पाश्र्व ध्वनी सुविन सेन्चुरीले दिएका छन् । आइटी सपोर्टरमा विशाल राई, निर्माण नियन्त्रकमा सुजन गिरी रहेका छन् । सम्पादन राजकुमार कार्कीले गरेका छन् भने छायांकन ज्ञानकुमार कट्टेलले गरेका छन् ।
