वर्षाका कारण घर भत्किएपछि एक परिवार विस्थापित

खोटाङ, ६ साउन । वर्षाका कारण घर भत्किएपछि खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका रामकुमार राईको परिवार विस्थापित भएका छन् । वर्षाका कारण बस्नै नमिल्नेगरि घर भत्किएपछि राई परिवार विस्थापित भएका हुन् ।

घर भत्किएपछि रामकुमार श्रीमती र एक छोरीसहित छिमेकी धनबहादुर राईको आश्रयमा बसिरहेको स्थानीय युवा नेता हरि थापा ‘उमेश’ले जानकारी दिए ।

मुनिबाट चर भासिँदैगएपछि घरको तल्लोपट्टीको गारो भत्किएको हो । वर्षाका कारण केही दिनअघि घरको चर दबिएको थियो । साउन ५ गते दिउँसो भने घरको गारो ढलेर क्षतीग्रस्त बनेको थापाले बताए ।