कुटपिटबाट पाथेकाका एक युवा घाइते

खोटाङ, ९ साउन । खोटाङमा कुटपिटबाट एक युवा घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ६८ वर्षीय हजुरमणि राईको कुटपिटबाट सोही ठाउँका १९ वर्षीय राजन राई घाईते भएका हुन् । सामान्य विवाद हुँदा हजुरमणिले साउन ८ गते राजनलाई कुटपिट गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटनाको विषयमा जानकारी आए लगत्तै अस्थायी प्रहरीचौकी तालखर्कबाट प्रसनि किशोरकुमार हजारी थारुको कमाण्डमा खटिएको प्रहरीको टोलीले हजुरमणिलाई साउन ९ गते नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कुटपिटबाट राजनको अनुहार तथा टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएको थियो ।

जिल्ला अस्पतालमा उपचारपछि राजनलाई सुविधा सम्पन्न अस्पताल रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।