
खोटाङ, १० साउन । बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सरकारसँग छलफल गर्नका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्ता टोली गठन गरेको छ । बाँसलाई प्रयोग गरेर आर्थिक आम्दानी लिने नीति निर्माणकालागि दवाव सिर्जना गर्न मेयर तीर्थराज भट्टराई हड्तालमा उत्रिएपछि वन तथा वातावरण मन्त्रालयको आव्हानमा वार्ता टोली गठन गरिएको हो ।
साउन १० गतेको नगर कार्यपालिकाको बैठकले उपमेयर एवं कार्यवाहक मेयर बिसन राईको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीको सदस्यमा पुर्व वन सचिव डा. अन्नपूर्ण दास, वडाध्यक्ष दिनेश घिमिरे, दानबहादुर राई, दिनेश राई, बाँसविज्ञ प्रणव प्रधान र एकजना कानूनविज्ञलाई चयन गरिएको छ ।
मन्त्रालयले छलफलका लागि साउन ८ गते पत्र पठाएपछि नगरपालिकाले वार्ता टोली गठन गरेको हो । मेयर हड्तालमा बसेको बेला सरकारसँग वार्ता गर्नेगरी वार्ता टोली गठन गरिएको कार्यवाहक मेयर राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । मन्त्रालयको पत्र अनुसार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र मेयर भट्टराईबीच साउन ९ गते छलफल भएको थियो । थप छलफल गर्न र वार्तालाई निष्कर्षमा पु¥याउनका लागि वार्ता टोली बनाइएको हो ।
मेयर भट्टराईले साउन ३ गते पत्रकार सम्मेलन गरेर बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई प्रयोग गर्ने नीतिगत व्यवस्थाको सुनिश्चितताका लागि सत्याग्रहको घोषणा गरेका थिए । साउन ११ गते बिहानदेखि भोक हड्ताल गर्नेगरि मेयर भट्टराई साउन ४ गते काठमाडौं पुगिसकेका छन् ।
मेयर भट्टराईले साउन ११ गते बिहान ८.४७ बजे सिंहदरबारको दक्षिणीगेटमा पुगेर कपाल मुण्डन गरेर मुखमा कालो पट्टी बाँधेर बाँसको घाना बोकेर खाली खुट्टा माइतीघर मण्डला पुगेर भोक हड्ताल गर्ने तयारी गरेका छन् । तीन दिनसम्म दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भोक हड्तालमा बस्दा पनि माग सुनुवाई नभए साउन १४ गते बिहान ९ बजेदेखि आमरण अनसन बस्ने मेयर भट्टराईले जानकारी दिए ।
