एनआरएनए रसियाको अध्यक्षमा खोटाङका सिताराम कट्टेल

खोटाङ, १३ साउन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) रसियाको अध्यक्षमा खोटाङका सिताराम कट्टेल ‘मिलन’ निर्वाचित भएका छन् । साउन ११ गते मस्कोमा सम्पन्न १२ औं अधिबेसनबाट कट्टेल एनआरएनए रसियाको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

साकेला गाउँपालिका–४ मात्तिममा जन्मिएका कट्टेल विगत १३ वर्षअघि मस्को पुगेर अध्ययनपछि व्यवसाय सञ्चालन गर्दैआएका छन् । उनले रसिया, दुबई, नेपाल लगायतका देशमा व्यवसाय सञ्चालन गर्दैआएका छन् ।

आरयुडिएन युनिभर्सिटीबाट एलएलएम उत्तिर्ण गरेका कट्टेल दुई वर्षे कार्यकालका लागि एनआरएनए रसियाको नेतृत्वमा पुगेका हुन् । उनी सन् २०१९ र २०२३ मा एनआरएनए रसियाको युवा संयोजक हुँदै हालसम्म एनआरएनए रसियाको महासचिवका रुपमा कार्यरत थिए ।

कट्टेलले मात्तिमकै बालबालिका माविमा प्राथमिक तहको अध्यायन गरेका थिए । उनी सन् २०१२ मा छात्रवृत्तिमा उच्च शिक्षा अध्यायनका लागि मस्को पुगेका थिए । उनका बुवाआमाको बसोबास भने इटहरीमा छ ।

अधिबेसनले कट्टेलको अध्यक्षतामा १६ सदस्यीय एनआरएनए रसियाको नयाँ कार्यसमिति गठन गरेको हो । कट्टेलले रसियामा बसोबास गर्ने नेपालीको हकहितमा काम गर्ने बताएका छन् । समितिको उपाध्यक्षमा सङ्ग्यान कार्की, अमितकुमार कर्ण, डा. प्रनिल प्रधान, महासचिवमा प्रविनकुमार खतिवडा, सचिवमा खगेन्द्र धामी, सचिवमा दयानिधि गुरागाईं, कोषाध्यक्षमा रामबाबु पाण्डे, सह–कोषाध्यक्षमा यमबहादुर थापा चयन भएका छन् ।

युवा संयोजकमा गिभ्सन ढकाल र महिला संयोजकमा हेमकुमारी पोखरेल ‘कला’लाई चयन गरिएको छ । कार्यकारी सदस्यमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, बिनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल निर्वाचित भएका छन् ।

यस्तै, इन्टरनेसनल कोअर्डिनेशन काउन्सिल (आईसीसी) सदस्यमा डा. मना मूर्ति भुर्तेललाई निर्विरोध चयन गरिएको छ ।