होर्डिङ बोर्डमार्फत फिल्म ‘माईतीघर’को प्रचार अभियान सुरु

काठमाडौं, १५ साउन । आगामी फूलपातीदेखि प्रदर्शनमा आउने बहुप्रतीक्षित फिल्म ‘माईतीघर’को प्रचार अभियान थालिएको छ । असोज १३ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको ‘माईतीघर’को ठूल–ठूला होर्डिङ बोर्ड राखेर प्रचार अभियान थालिएको हो ।

निर्माता रोहित अधिकारीले फेसबुकमार्फत होर्डिङ बोर्ड राखेर फिल्मको देशव्यापी प्रचार सुरु गरिएको जानकारी दिएका छन् । ‘कान नसुन्ने र आँखा नदेख्ने समेतलाई पनि यसपाली थाहा हुनेछ कि माइतीघर यहीँ आउदो बडादशैंको फुलपातीमा चल्दैछ भनेर, बाचा भयो,’ निर्माता अधिकारीले लेखेका छन्, ‘यो २०/५० को होर्डिङ बोर्ड काठमाडौंको मुख्य नाका नौबिसेमा ल्याएका छौँ । २०/१०० को होर्डिङ बोर्डहरु पनि लाग्दैछ चोक–चोक, गल्ली–गल्ली, हिमाल, पहाड, तराई सबैतिर प्राणभन्दा प्यारो माइतीघर ।’

माइतीघर फिल्मको अफिसियल फस्टलुक साउन १६ गते सार्वजनिक गर्ने तयारी गरिएको छ ।