
खोटाङ, १५ साउन । ‘बाँस सत्याग्रह’ थालेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको मागप्रति संस्थागतरुपमा ऐक्यवद्धता जनाउनेको संख्या बढिरहेको छ । बाँस तथा बाँसजन्य उद्योग स्थापना गर्ने नीति बनाउनुपर्ने लगायतका सात सूत्रीय माग सहित मेयर भट्टराई माइतीघर मण्डला पुगेर साउन १४ गतेदेखि आमरण अनसनमा बसेका छन् ।
बाँस प्रवद्र्धन गर्ने मेयर भट्टराईको मागप्रति जिल्ला समन्वय समिति खोटाङ र बराहपोखरी गाउँपालिकाले ऐक्यवद्धता जनाएका छन् । व्यक्तिगत रुपमा ऐक्यवद्धता जनाएर साथ दिने पनि उत्तिकै छन् । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले समेत सत्याग्रह स्थलमा पुगेर भट्टराईको मागप्रति ऐक्यवद्धता जनाइसकेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि भट्टराईलाई साउन १४ गते राती बीर अस्पताल भर्ना गरिएको छ । भट्टराईको स्वास्थ्य अवस्था क्रमशः शिथिल बन्दैगएको छ । साउन ११ गतेदेखि सुरु गरिएको तीन दिने भोक हड्तालबाट माग सुनुवाई नभएपछि मेयर भट्टराई आमरण अनसनमा बसेका हुन् ।
जिल्ला समन्वय समितिले मेयर भट्टराईको मागप्रति ऐक्यवद्धता जनाउँदै उनले उठाएका सवालहरुलाई समयमा सम्बोधन गर्न आग्रह गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले साउन १५ गते विज्ञाप्ती जारी गर्दै आमरण अनसनबाट मेयर भट्टराईको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएकाले जीवनरक्षाको लागि सरकार समक्ष अपिल गरेको छ । यस्तै, बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले पनि विज्ञाप्ती जारी गर्दै मेयर भट्टराईको बाँस तथा बासजन्य सामग्री प्रवद्र्धनको मागप्रति ऐक्यवद्धता जनाएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत मेयर भट्टराईको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका हुन् ।
