
खोटाङ, १९ साउन । खोटाङमा तिर्थयात्री बोकेको विङगर गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । साउन १९ गते बिहान हलेसी दर्शन गरेर सिराहा फर्कँदै गरेको तिर्थयात्री बोकेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको गाडी दुर्घटना हुँदा सिराहा नराह गाउँपालिका–५ की ममतादेबी यादवको मृत्यु भएको हो । तिर्थयात्री सवार गाडी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको दौंते खोला नजिकै सडकबाट करिब दुई मिटर तल खस्दा गम्भीर घाइते भएकी यादवलाई उदयपुरको कटारी प्रादेशिक अस्पतालले मृत घोषणा गरेको हो ।
विङ्गर गाडीमा चालक सहित १८ तिर्थयात्रु सवार थिए । घाइतेमध्ये १० जनालाई ट्रमा सेन्टर, काठमाडौं लगिएको छ । ६ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । घटनापछि सिराहा नगरपालिका–१२ निवासी चालक रामनाथ शाह भने फरार छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार नराह गाउँपालिका–५ ठेगाना भएका राजु यादव, सरीतादेवी ठाकुर, सविताकुमारी यादव, मिथिलाकुमारी यादव, दुर्योधन यादव, पुनम यादव, लक्ष्मी शर्मा, नदिन शर्मा, धनेश्वर यादव र झालुदेवी यादवलाई ट्रमा सेन्टर पुर्याइएको छ ।
यस्तै, नराह गाउँपालिका–५ का रञ्जित यादव, शिवम शर्मा, दिपेन्द्र यादब, सिरहा गोलबजार नगरपालिका–६ का शिला शर्मा, सिरहा औरही गाउँपालिका–२ का मिनाकुमारी शर्मा र कुस्मवती यादव उपचारपछि डिस्चार्ज भएका छन् ।
दुर्घटनाको खबर प्राप्त भए लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी, हलेसी तुवाचुङ नगरपालिका र स्थानीयले घाइतेलाई उद्धार गरेर अस्पताल पठाउने प्रवन्ध मिलाएका थिए ।
साउनभर हलेसीमा लाग्ने बोलबम मेलाको अवसरमा सिराहाबाट आएका तिर्थयात्री दुर्घटनामा परेका हुन् । तिर्थयात्री बोकेको गाडी सहज ठाउँमा पल्टिएको छ । बोलबमका कारण हाल हलेसी आवत–जावत गर्ने सडकमा सवारी साधनको बाक्लो आवत–जावत भइरहँदा दुर्घनाको जोखिम बढेको छ ।
