
इटहरी, २७ साउन । आगामी दशैंको फूलपाती अर्थात असोज १३ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’ले दर्शकलाई आकर्षित गर्नका लागि प्रचार रणनीति सार्वजनिक गरेको छ ।
‘माइतीघर’को प्रचार–प्रसारका लागि आगामी भदौ दोस्रो सातादेखि फिल्मको ‘प्राण भन्दा प्यारो माईतीघर’ बोलको गीतको रि–क्रिएसन संस्करणमा आधारित नृत्य प्रतियोगिता गर्ने तयारी गरिएको छ । नृत्य प्रतियोगीताका एक जना विजेतालाई नगद ५ लाख रुपैयाँ पुरस्कार तोकिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । यो रकमलाई कुनै पनि नेपाली फिल्मको प्रचारका लागि राखिएको प्रतियोगिताको पुरस्कार राशिमध्ये अहिलेसम्मकै ठूलो दावी गरिएको छ ।
निर्माता अधिकारीका अनुसार समयमै सो गीत सार्वजनिक गर्ने र प्रतियोगिता सुरु हुनेछ । नृत्य प्रतियोगीतामा देशभरका जोसुकैले सहभागी हुन पाउनेछन् । प्रतियोगितामा सहभागीताका लागि सो गीतको अडियो क्लिप प्रयोग गरेर सामूहिक वा एकल नृत्य प्रस्तुत गर्न सकिने अधिकारीले बताए । नृत्य गरेको भिडियो मोबाइलमै खिचेर पठाउन सकिने सुविधा दिइने छ । प्रतियोगिताको सम्पूर्ण विवरण छिट्टै सार्वजनिक गरिने अधिकारीले जानकारी दिए ।
‘माइतीघर’ मिलन तामाङको निर्देशनमा तयार भएको रोहित अधिकारी फिल्मस् प्रालिको प्रस्तुति हो । फिल्ममा तामाङ समुदायको संस्कृति र भावनात्मक सम्बन्धलाई कथाको केन्द्रमा राखिएको छ । रविन शेरचन र धिरज तामाङले लगानी गरेको यस फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माता छन् । चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद, सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र अष्ट महर्जनको एक्सन निर्देशन फिल्मको प्राविधिक बलियो पक्ष हो ।
यो फिल्मको गीतमा किरण खरेल, कुमार स्याङ्बा र राम अविरलका शब्दमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी. योगी र दिवंगत जयदेवको संगीत रहेको छ । फिल्ममा केदार घिमिरे ‘माग्नेबुढा’, धिरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा लगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।
निर्माता अधिकारीले यसपटक प्रचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै ‘माइतीघर’ दर्शकको अपेक्षाभन्दा बढी प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
